नेपालमा आयातित तथा हाइब्रिड (वर्णशङ्कर) बिउको प्रयोग बढ्दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व सङ्कटमा परेको छ । कृषिविज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, सहरीकरण, बसाइँसराइ, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन् ।
हाइब्रिड बिउ स्थानीय र उन्नत जातबिचको वैज्ञानिक संयोजन (क्रस) बाट तयार गरिन्छ । यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा २० देखि ३० प्रतिशतसम्म बढी उत्पादन दिन्छन् । केही बालीमा उत्पादन दोब्बर वा तेब्बरसम्म हुने गर्छ, छिट्टै पाक्ने भएकाले किसानले कम समयमा बजारमा उत्पादन पुर्याएर आम्दानी लिन सक्छन् ।
तर हाइब्रिड बिउसँगै धेरै चुनौती छन् । यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नु पर्छ । बिउको मूल्य महँगो हुनुका साथै राम्रो उत्पादनका लागि रासायनिक मल, सिँचाइ र अन्य कृषि सामग्रीमा समेत बढी लगानी आवश्यक पर्छ । रोग र किराको प्रकोप धेरै हुन्छ ।
यसले किसानलाई बजार र कम्पनीमाथि निर्भर बनाउने जोखिम रहेको विज्ञको भनाइ छ । रैथाने बाली केवल खाद्यान्नका स्रोत मात्र होइनन्, ती स्थानीय समुदायको इतिहास, संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका जीवित सम्पदा हुन् । यस्ता बाली स्थानीय वातावरण अनुसार विकसित भएका कारण खडेरी, अनियमित वर्षा, रोग तथा किराको आक्रमणसमेत सहन सक्ने क्षमता राख्छन् तर हाइब्रिड बालीले त्यस्तो प्राकृतिक प्रकोप सहन सक्दैन ।
रैथाने बालीको लोपसँगै गाउँको खाद्य संस्कृति पनि सङ्कटमा पर्न थालेको छ । पार्टी प्यालेसहरूमा हुने भोजले कोदोको रक्सी, फापरको रोटी, कागुनोको भात, भटमासको अचार र स्थानीय धानका परिकार नयाँ पुस्तालाई थाहा नै छैन । रैथाने बिउहरू स्थानीय वातावरणसँग घुलमिल भएका हुन्छन् । यस्ता जातले खडेरी, असामान्य वर्षा वा अन्य प्रतिकूल परिस्थितिमा समेत बाँच्ने क्षमता राख्छन् ।
स्वाद, पोषण र गुणस्तरका हिसाबले पनि धेरै रैथाने जात लोकप्रिय मानिन्छन् । किसानले आफ्नै उत्पादनबाट अर्को यामका लागि बिउ सुरक्षित राख्न सक्ने भएकाले यसको लागत पनि कम पर्छ । यद्यपि रैथाने जातको उत्पादन क्षमता हाइब्रिडको तुलनामा कम हुने र बाली तयार हुन बढी समय लाग्ने समस्या छ । यही कारण बजारमुखी र व्यावसायिक खेतीमा रैथाने बिउको प्रयोग घट्दै गएको छ ।
सत्यपाटी