२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

सीप हराउन थालेपछि जनै बाट्न सिक्दै युवा

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८३ असार १० गते बुधबार

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो । जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् । जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ ।

पाल्पाको तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुष लगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन् । नयाँपुस्ताले जनै बनाउन थालेपछि भने पुरानापुस्तामा उत्साह छाएको छ । तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउँछन् ।

‘जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको अब भने यो संस्कृति बचाउन सकिन्छ की भन्ने लागेको छ,’ उनले भने । बराङ्गदीका हरी घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो । तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरुगरेभन्दा खुसी हुन्छन । उनी भन्छन्, ‘पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो, अब भने केही हुन्छ कि भन्ने लागेको छ ।’

तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा जनै बनाउने सीप सिकाउन लागेको वडाध्यक्ष महेश लाल श्रेष्ठले बताए । एकातिर संस्कृतिको जगेर्णा हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडाध्यक्षको भनाइ छ । पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरुका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ । जनै संस्कृतिलाई बचाइँराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने स्थानीय धर्मचन्द्र नेपालले बताए ।

युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । आयातित जनै भाती पुर्याएर बाटिएको हुँदैन । जनैमा पारिने गाँठोलाई सामान्यतया बह्मागाँठो पनि भनिन्छ । हिन्दू परम्परामा जनै (यज्ञोपवीत)मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ । तर, किनुवा जनैलाई विधि पुर्याएर बाटिएको हुँदैन । त्यसैले किनुवा जनै नभई एकप्रकारको धागो मात्र भएको तागाधारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार