२०८३ असार ८ , सोमबार 22, June 2026, Monday

खजुरामा गाउँपालिकामा २२ हजारले लिए आयुर्वेद सेवा

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार ८ गते सोमबार

बाँकेको खजुरामा चालू आर्थिक वर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शाखाले जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा २२ हजार ३९४ जनाले आयुर्वेद सेवा लिएको जनाएको छ । आयुर्वेद शाखाका प्रमुख किरण खनालले हरेक वर्ष आयुर्वेद सेवा लिनेहरूको संख्या ठूलो आकारमा बढ्दै गएको बताए ।

शाखा प्रमूख खनालका अनुसार सेवा केन्द्रले नियमितरुपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्व कर्म सेवा, पञ्च कर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धबर्द्धक औषधि (शतावरी चूर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सेवा लिनेहरूमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले आयुर्वेद उपचार पद्धतिका बारेमा प्रचारप्रसार गर्दै यसप्रति नागरिकको आकर्षण बढाउन सञ्चारकर्मीको अहम् भूमिका हुने बताए । उनले नसर्ने रोग चुनौतीका रुपमा रहेको बताउँदै जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय बिस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताए ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार