२०८३ भदौ १७ , बुधबार 2, September 2026, Wednesday

नरैनापुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकाभित्रका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेपछि औपचारिक रूपमा घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिका बमोजिम आवश्यक प्रक्रिया पूरा गरी छ वटै वडामा घरदैलो सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणमा १६ देखि २३ महिनाका ९०२ जना बालबालिका पहिचान गरिएकोमा ६७६ जनाले नियमित खोप प्राप्त गरेका थिए भने छुट भएका २२६ जनासहित सबै बालबालिकालाई खोपको पहुँचमा ल्याइएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले जानकारी दिए ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रमाणीकरण पत्र हस्तान्तरण गरे । त्यसपछि अध्यक्ष शाहले छ वटै वडाका वडाध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा पूर्णखोप अभियानमा योगदान पुर्याउने १२ जना खोप कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवाबाट अवकाश प्राप्त सिअनमी दुर्गा शर्मा तथा कार्यालय सहयोगी सलिम खाँ र शिवको विदाइ पनि गरिएको थियो । २९ वर्षसम्म सेवामा समर्पित रहेकी दुर्गा शर्माले आफ्नो अनुभव सुनाउँदै भावुक बनेकी थिइन् । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पूर्णखोप सुनिश्चितता घोषणा बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति पालिकाको प्रतिबद्धताको प्रमाण भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले उपलब्धिलाई दिगो बनाउन निरन्तर समन्वय आवश्यक रहेको उल्लेख गरे । स्वास्थ्य शाखाका प्रतिनिधि विवेक पौडेलले अभियान सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बाँके जिल्लाका आठ स्थानीय तहमध्ये नरैनापुरसहित सात वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेका छन् । यससँगै जिल्लामा बालबालिकालाई नियमित खोप सेवाको पहुँच विस्तार र खोपबाट रोकथाम गर्न सकिने रोग नियन्त्रणमा प्रगति भएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार