२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

इच्छाशक्तिले उमेशलाई दिएको सफलता

बाँकेको राप्तीसोनारी–२, मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेश खत्रीले खुट्टाले लेखेरै कक्षा १२ मा ३.४० जिपिए हासिल गरी उच्च सफलता प्राप्त गरेका छन् । खत्रीको दुवै हात नभए पनि सफलता शारीरिक क्षमताले मात्र होइन मेहनत र इच्छाशक्तिले पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न उनी सफल भएका हुन् ।

खुट्टाले लेखेर खत्रीले १२ कक्षामा राम्रो अङ्क ल्याएपछि अहिले लक्ष्मी माध्यमिक विद्यालयका छात्रछात्रादेखि सम्पूर्ण शिक्षक र मदुवागाउँका सबै स्थानीय खुसी छन् । विद्यालयकी शिक्षिका तथा खत्रीकी ठुलीआमा कमला खत्रीले उमेशका लागि कक्षा १२ को नतिजा शैक्षिक उपलब्धि मात्र होइन, सङ्घर्षमाथिको विजय भएको बताइन् ।

उनले उमेशले भने खुट्टाको सहारामै आफ्नो सपनालाई सफलतामा परिणत गरेर देखाएको बताइन् । कमलाका अनुसार कृषि सङ्काय अध्ययनरत उमेशका दुवै हात चल्दैनन् । सामान्य कामदेखि लेखपढसम्मका गतिविधि उनका लागि चुनौतीपूर्ण छन्, तर उनले आफ्नो शारीरिक अवस्थालाई कहिल्यै बाधक बन्न दिएनन् ।

विद्यालयको पहिलो दिनदेखि नै खुट्टाले कलम समातेर लेख्न सिकेको जनाउँदै कठिनाइलाई कमजोरी होइन, सिकाइको अवसरका रूपमा लिँदै यहाँसम्म पुगेको उमेशले बताए । उनले अझै धेरै पढ्ने इच्छा रहेको जनाउँदै अब कृषिमा उच्च अध्ययनका लागि काठमाडौँ जाने योजना रहेको सुनाए । उच्च अध्ययनका लागि सरकारले विशेष छात्रवृत्ति दिएर सहयोग गर्नुपर्ने माग पनि उनले माग गरे ।

राप्तीसोनारी गाउँपालिका–२, मदुवा निवासी खत्रीको जन्मदेखि नै दुवै हात नभएको र खुट्टा पनि नचल्ने अवस्थामा रहेको जनाउँदै उनकी आमा गोमा खत्रीले पछि बनेपास्थित अस्पतालमा लगेर खुट्टाको शल्यक्रिया गरिएपछि हिँड्न सक्ने भएको बताइन् । उमेशका पिता टेकबहादुर खत्री सशस्त्र प्रहरीमा कार्यरत छन् ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले उमेशको सफलता र मेहनेत कुनै सामान्य खालको नभएको जनाउँदै यो अभूतपूर्व भएकोले यसबाट सम्पूर्ण विद्यालय परिवार गौरवान्वित बनेको प्रतिक्रिया दिए । उनले भने, ‘उमेशले शारीरिक पीडा, थकान र असहजताबीच पनि आफ्नो लक्ष्यबाट ध्यान हटाएनन् । निरन्तर अभ्यास, परिवारको साथ र शिक्षकको हौसलाले उनलाई अघि बढ्न निरन्तर ऊर्जा दिइरहयो ।’

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार