यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) मनसुन कोशी प्रदेशका केही भू–भागमा प्रवेश गरेको हो ।
महाशाखाले जारी गरेको सूचनामा हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको उल्लेख गर्दै देशभर फैलिन अझै केहीदिन लाग्ने जनाएको छ । अहिले पूर्वी नेपालका सीमित क्षेत्रमा मात्रै मनसुनको प्रभाव देखिन थालेको छ ।
सामान्यतया नेपालको पूर्वी भू–भागमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ (जेठ ३० गते) मानिन्छ । तर यस वर्ष मनसुन जुन १९ (असार ५ गते) मात्रै नेपाल भित्रिएकाले निर्धारित समयभन्दा ६ दिन ढिला भएको महाशाखाको तथ्यांकले देखाएको छ ।
मौसमविद्हरूका अनुसार बंगालको खाडी र आसपासका क्षेत्रबाट विकसित हुने मनसुनी प्रणाली क्रमशः सक्रिय बन्दै गएपछि आगामी दिनमा देशका अन्य प्रदेशमा पनि यसको विस्तार हुने सम्भावना छ । यद्यपि मनसुनको गति र प्रभाव मौसमीय अवस्था अनुसार फरक–फरक हुन सक्ने बताइएको छ ।
महाशाखाले मनसुनसँगै वर्षा, मेघगर्जन तथा चट्याङका गतिविधि बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न सुझाव दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जानकारी दिँदै आवश्यकता अनुसार अद्यावधिक सूचना सार्वजनिक गरिने जनाएको छ । साथै सर्वसाधारणलाई नियमित रूपमा मौसम बुलेटिन तथा विभागले जारी गर्ने सूचनाहरूको पालना गर्न आग्रह गरिएको छ ।
सत्यपाटी