पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने अमेरिका–इरान सम्झौता लागु भएपछि अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
यद्यपि, क्षेत्रीय सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै केही अमेरिकी युद्धपोतहरू भने अझै पनि खाडी क्षेत्रमा तैनाथ रहनेछन् । यसैबीच, इरानका सर्वोच्च नेता मोजतबा खामेनीईले आफूलाई यस सम्झौताप्रति केही असहमति र आशंका रहे पनि अन्ततः यसलाई अनुमोदन गरेको बताएका छन् ।
उनले इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनताको अधिकार र राष्ट्रिय हितको रक्षा गर्ने प्रतिबद्धता जनाएपछि मात्र आफूले वार्तालाई अगाडि बढाउन अनुमति दिएको बताए । खामेनीईले अमेरिका सम्झौतामा पुग्न बाध्य भएको दाबी गर्दै भने, ‘राष्ट्रपति ट्रम्पले निराशा र विवशताका कारण यो सम्झौता गराउन सबै प्रकारका उपायहरू अपनाए ।’
उनले भविष्यमा इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता हुन सक्ने स्वीकार गर्दै त्यसको अर्थ इरानले आफ्नो विरोधीको अडान स्वीकार गरेको नहुने स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले खामेनीईको भनाइको प्रत्यक्ष प्रतिक्रिया नदिए पनि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इजरायल र लेबनानमा इरान समर्थित हिजबुल्लाहसँगको तनावसहित सबै मोर्चामा युद्धविराम कायम रहने अपेक्षा व्यक्त गरे । उनले मध्यपूर्वका सबै पक्षहरूले वार्ताको वातावरण कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सत्यपाटी