राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी कुल तीन लाख ३२ हजार २४१ विद्यार्थीमध्ये दुई लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् । त्यसैगरी, नियमिततर्फका एक लाख ४७१ एनजीको सामना गरे ।
यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो । नियमित र आंशिक गरी यसपटक कुल चार लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल दुई लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् ।
दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको नतिजा अनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन् । यस समूहमा ९४ हजार २४९ जना छन् ।
बोर्डका अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने चार हजार ३०८ जना र १.६१ देखि २.०० जीपीए ल्याउने नौं जना रहेका छन् ।
सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउने छन् । समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ ।
४० परीक्षार्थीको परीक्षा रद्द, दुई परीक्षार्थीलाई प्रतिबन्ध
यस वर्ष कक्षा–१२ का ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार (असार ५) सार्वजनिक गरेको कक्षा–१२ को नतिजामा उक्त संख्यामा परीक्षार्थीको परीक्षा रद्द गरिएको उल्लेख छ । नियमिततर्फका ३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । आंशिकतर्फ १० गरी कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
यसमध्ये दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका कुनै परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध समेत गरिएको छ । कक्षा–१२ को परीक्षामा यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ । गएको वैशाख १४ देखि २७ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो ।

सत्यपाटी