नेपालमा मनसुन भित्रिने औसत मिति नाघेको आज (असार ४ गते) ६ दिन भइसकेको छ । तर मनसुन प्रवेश गर्न सकेको छैन । यद्यपि अब मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताएका छन् ।
‘हामी मनसुनको अनुगमनमै छौँ,’ उनले भने, ‘अब मनसुन चाँडै भित्रिने आकलन गरेका छौँ ।’ तर पनि अब यति नै दिनभित्र मनसुन आइपुग्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ । ‘मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘तर यति दिनभित्र भित्रिन्छ भन्न सकिन्न । बिचमा फेरि केही परिवर्तन पनि हुन सक्छ ।’
नेपालमा मनसुन भित्रिने औसत मिति यही जुन १३ तारिख (जेठ ३१) थियो । यद्यपि मनसुन ठ्याक्कै यही मितिमा भित्रिने होइन, यो त औसत मिति मात्र हो । यसको केही दिनअघि वा पछि मनसुन नेपालमा प्रवेश गर्छ । गत वर्ष २०८२ मा भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिन अगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो ।
सत्यपाटी