२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

कालीकोटमा पनि भेटियो दुर्लभ रेडपाण्डा

सत्यपाटीसत्यपाटी । कालीकोट । २०८३ असार ३ गते बुधबार

कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।

तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ ।

तिलागुफा नगरपालिका–१० स्थित रेडपाण्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपाण्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताए ।

‘संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ,’ उनले भने, ‘पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।’

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपाण्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताए । विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपाण्डा भएको स्थानीयले बताउँदै आएका थिए ।

‘अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएको छ,’ उनले भने, ‘संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।’

त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपाण्डाको बासस्थान भेटिएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । ‘हामीले विगतमा नै हाउडी लेक लगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ,’ उनले भने ।

महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपाण्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपाण्डा भेटिएको गाउँपालिकाले जनाएको छ । रेडपाण्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ ।

जङ्गलमा घाँस दाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपाण्डाको बासस्थान सङ्कट पर्र्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार