२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

भारतले टेलिग्राममा किन लगायो अस्थायी प्रतिबन्ध ?

सत्यपाटीसत्यपाटी । नयाँदिल्ली । २०८३ असार २ गते मंगलबार

परीक्षामा प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मेसेजिङ प्लेटफर्म टेलिग्राममा अस्थायी रूपमा पहुँच अवरुद्ध गरेको छ । सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ ।

गत महिना प्रश्नपत्र चुहावटसँग सम्बन्धित ठूलो स्क्यान्डल सार्वजनिक भएपछि एनइइटी परीक्षा रद्द गरिएको थियो । यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शनसमेत चर्किएको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबारदेखि जुन २२ सम्म टेलिग्राममा पहुँच रोक्ने आदेश जारी गरेको हो ।

साथै, पहिले पठाइएका सन्देशहरू परिवर्तन गर्न प्रयोगकर्तालाई अनुमति दिने मेसेज सम्पादन सुविधा जुन ३० सम्मका लागि निलम्बन गरिएको छ । राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले जारी गरेको विज्ञप्तिमा यी कदमहरू सार्वजनिक व्यवस्थाको हितमा लिइएको र परीक्षा नकल तथा ठगीमा संलग्न र्‍याकेटहरू टेलिग्राम प्रयोग गरेर सक्रिय भएको प्रमाणका आधारमा गरिएको उल्लेख छ ।

एनइइटी परीक्षा भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामध्ये एक हो । यो परीक्षामा करिब २० लाखभन्दा बढी विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन् । यस परीक्षाको सफलताले देशका मेडिकल कलेजहरूमा प्रवेश निर्धारण गर्छ । चुहावटको आरोप टेलिग्राम च्यानलमार्फत प्रश्नपत्र पहिले नै फैलिएको भन्दै उठेपछि मे महिनामा परीक्षा रद्द गरिएको थियो । यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौँ विद्यार्थी राम्रो नतिजाका लागि वर्षौँसम्म कोचिङ सेन्टरमा अध्ययन गर्छन् । तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाब पर्ने गरेको छ । यसै दबाब र असमान अवसरका कारण परीक्षा प्रणालीसँग सम्बन्धित असन्तोष समय–समयमा देखिँदै आएको छ । केही अवस्थामा परीक्षामा असफलतापछि विद्यार्थीहरूले आत्महत्यासम्म गरेका रिपोर्टहरू पनि सार्वजनिक भएका छन् ।

चुहावट प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ । उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएको छ । सरकारले सोमबार एउटा विशेष अनलाइन पोर्टल पनि सुरु गरेको छ । उक्त पोर्टलमार्फत नागरिकले एनइइटीसँग सम्बन्धित शङ्कास्पद गतिविधि, अनधिकृत सामग्री वा ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन् ।

परीक्षा प्रणालीमा डिजिटल मार्किङ र अनलाइन मूल्याङ्कनसम्बन्धी अन्य विवादहरू पनि यस घटनासँगै सतहमा आएका छन् । धेरै विद्यार्थीहरूले गलत ग्रेड दिइएको वा नतिजा वितरणमा त्रुटि भएको गुनासो गरेका छन् । भारत तीव्र आर्थिक वृद्धिको अवस्थामा रहे पनि लाखौँ युवाहरू स्थिर रोजगारी र उच्च प्रतिस्पर्धात्मक करियर सुरक्षित गर्न सङ्घर्षरत छन् । यसले परीक्षामा सफलता प्राप्त गर्ने दबाब अझ बढाएको छ र परीक्षा केन्द्रित सामाजिक संरचना अझ जटिल बनेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार