२०८३ असार १ , सोमबार 15, June 2026, Monday

दुई हजार ३१५ गोही नदीमा छाडियो

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ असार १ गते सोमबार

पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो ।

केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबईमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ ।

यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो । सन् २०२१ र २०२२ मा संकलन भएका अण्डाबाट कोरलिएका गोही यस वर्ष छाडिएको हो । हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन ।

गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३६६ वटा मात्र भेटिएको थियो । हाल प्रजनन केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष संकलन गरिएको १९६ अण्डाबाट १४६ बच्चा कोरलियका छन् । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।

विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम संख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायत कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापा मगरले बताए ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार