२०८३ असार १ , सोमबार 15, June 2026, Monday

काँधमा भारी र साथमा वस्तुभाउ लिएर लेक उक्लिँदै गोठाला

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८३ असार १ गते सोमबार

काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका देखिन्छन् ।

यसरी आफ्नै गतिमा हिँडिरहेका गोठाला र उनीहरूका वस्तुभाउ यतिबेला लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन् । बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसानहरू हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठालाहरू अहिले फेरि वस्तुभाउ लिएर बुकीपाटनतर्फ लाग्न थालेका हुन् ।

एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने भएकाले बेँसीमा मात्रै घाँस पुर्याउन सकिँदैन । त्यसैले उनीहरू हिउँद र बर्खाको समयमा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् । जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट लगायतका स्थानबाट गोठालाहरू आफ्ना वस्तुभाउ लिएर लेक उक्लिन्छन् । पश्चिम बागलुङका अधिकांश किसानहरू पशुपालनमै आबद्ध छन् ।

कतिपय गोठालाहरू जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसकेका छन् भने धेरैजसो यतिबेला खाद्यान्न र खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठालाहरू अब चार महिनापछि मात्रै गाउँ अर्थात् बेँसी झर्छन् । बर्खाभरि लेकमा बस्ने गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा आफैँले बोकेर जाने गर्छन् ।

उनीहरू समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनौँ समय उतै बित्ने गर्छ । लेकमा टेलिफोन र विद्युतको सुविधा नहुने भएकाले उनीहरूको लामो समयसम्म परिवारसँग फोन सम्पर्कसमेत हुँदैन ।

असारदेखि असोजको बीचमा कोही बिरामी परेमा, खर्च सकिएमा वा अन्य कुनै आकस्मिक घटना भएमा मात्र उनीहरू बेँसी झर्छन् । गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङ लगायतका अग्ला पहाडी क्षेत्रमा पुग्छन् ।

बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताए । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उल्लेख गर्दै घर्ती मगरले भने, ‘यतिका सम्पत्ति एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउनु पर्छ । बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ ।

घाँस पनि पलाइसकेकाले चरनका लागि सजिलो हुन्छ । एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।’ लेकमा बस्दा किसानहरूले पशुपालन मात्र गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा र चोयाका विभिन्न सामग्रीहरूसमेत बनाउने गर्छन् । लेकमा उत्पादन भएका यस्ता वस्तुहरू बेँसी झरेपछि बजारमा बिक्री गरिन्छ ।

तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता नै बुकीपाटन पुगेका थिए । यसपालि बाली लगाउन ढिला भएकाले बल्ल बुकीपाटनको यात्रा सुरु गरेको उनले बताए । आफ्ना छिमेकीहरू भने एक साता अगाडि नै लेक उक्लिसकेको उनको भनाइ छ ।

सिर्पालीले भने, ‘म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा श्रीमती बिरामी छिन् र बारीमा बालीनाली लगाउनुपर्ने भएकाले एक साता ढिला भयो । एक महिनापछि फेरि बेँसी झर्ने काम छ, त्यतिबेला लेकमा रहेका साथीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला । अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।’

ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्र नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानहरू भेडाबाख्रा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसकेका छन् । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेका हुन् । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको बताउने अदैका अनुसार लेकमा घाँस पलाइसकेकाले अबको एक सातामा बेँसीमा रहेका सबै गोठालाहरू उक्लिसक्ने छन् ।

अदैले भने, ‘हामी यसरी लेक बेँसी गर्न थालेको तीन–चार दशक बितिसक्यो । पढाइलेखाइ पनि भएन र देशविदेश पनि गइएन । यही वस्तुभाउ हेर्ने र ज्यान पाल्नेबाहेक अरू केही गर्न सकिएन । बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो । अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा यो ठाउँ भरिभराउ हुन्छ ।’

स्रोत : रासस
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार