२०८३ असार १ , सोमबार 15, June 2026, Monday

कतै बादल र वर्षा, कतै गर्मी र तातो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १ गते सोमबार

हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । यसैका कारण देशका फरक–फरक भू–भागमा मौसमको विविध रूप देखिन थालेको छ ।

अहिले देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा छ । यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमबारको मौसम पूर्वानुमान हेर्दा देशको हिमाली भू–भाग र कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने देखिन्छ । देशका अन्य पहाडी भू–भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ । पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ ।

एकतर्फ पहाडी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ । ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार