मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले नेपालको ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारलाई सुदृढ बनाउने उद्देश्यका साथ दुईवटा नयाँ सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ । नुवाकोटको रातमाटेमा आयोजित एक विशेष समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका यी महत्त्वपूर्ण आयोजनाहरूको निर्माण सुरु गरिएको हो ।
संयुक्त राज्य अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७० करोड डलर लगानी रहेको यस साझेदारीले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको स्तरउन्नति गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा.घनश्याम उपाध्यायले यस आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीको रूपमा टिप्पणी गरे ।
उनले ऊर्जा सुरक्षा सुनिश्चित गर्न र औद्योगिक विस्तारका लागि सुदृढ प्रसारण पूर्वाधार अनिवार्य रहेकोमा जोड दिए । अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमका यस कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको छ । यस परियोजना अन्तर्गत रातमाटे र नयाँ दमौलीमा ४०० केभी क्षमताका सबस्टेसनहरू निर्माण हुनेछन्, जुन नेपालकै ठुला सबस्टेसनमध्येमा पर्नेछन्। प्रसारण लाइनतर्फ लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, रातमाटे–न्यु दमौली र न्यु दमौली–न्यु बुटवल खण्डहरूको निर्माण गरिनेछ ।
निर्माण कार्यका लागि टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ, आशिष–बोयगोज, एन्जेलिक–स्किपर र वाइवा–सालसर जस्ता विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भई काम अगाडि बढिसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यी पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण हिस्सा हुने बताए । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस आयोजनालाई नेपालको ऊर्जा पूर्वाधार विकासको ‘कोसेढुङ्गा’को रूपमा अथ्र्याउँदै यसले क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई एक प्रमुख शक्तिका रूपमा स्थापित गर्ने उल्लेख गरे ।
सत्यपाटी