२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday

सिएमसीमा मस्तिष्क नसाको दुर्लभ शल्यक्रिया सफल

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ जेठ २६ गते मंगलबार

चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस प्रकारको शल्यक्रिया सफल भएपछि ती युवतीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डा.विवेककुमार साह र कार्डियोभास्कुलर सर्जन प्रा.डा.अनिल आचार्यको टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो । डा.साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी ती युवती खाना खान नसक्ने समस्या भएपछि तीन दिनअघि सिएमसी अस्पताल पुगेकी थिइन् ।

आवश्यक परीक्षणका क्रममा एमआरआई र सिटी स्क्यानबाट उनको मस्तिष्कको ठूलो नसा फुटेको पत्ता लागेको थियो । कार्डियोभास्कुलर सर्जरीमार्फत नसा फुटेको स्थानसम्म पुग्न कठिन भएकाले आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिको प्रयोग गरी चिरफार नगरी उपचार गरिएको डा.साहले बताए । ‘हामीले नसा फुटेको स्थानमा विशेष जाली राखेका छौँ,’ उनले भने, ‘यसलाई चिकित्सकीय भाषामा ‘फ्लो डाइभर्टर’ भनिन्छ ।’

डा. साहका अनुसार यस्तो समस्या निकै दुर्लभ मानिन्छ र करिब एक हजार जनामध्ये एक जनामा मात्र देखिने सम्भावना हुन्छ। यस्तो अवस्थामा जोखिमयुक्त भागलाई सुरक्षित रूपमा बन्द गरी नसा जोगाउनु मुख्य चुनौती हुने उनले बताए । अस्पतालका क्याथल्याब इन्चार्ज अमृत काफ्लेका अनुसार यस्तो जटिल र जोखिमपूर्ण उपचारका लागि दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरण आवश्यक पर्छ ।

सिएमसीमा उपलब्ध ‘बाइ–प्लेन क्याथल्याब’ प्रविधिका कारण यस्तो उपचार सम्भव भएको उनको भनाइ छ । आइतबार शल्यक्रिया गरिएकी युवतीलाई सोमबार वार्डमा सारिएको थियो । स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले आज डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिए । डा.साहका अनुसार शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसाहरू पनि कमजोर बन्ने र फुट्ने जोखिम बढ्ने गर्छ ।

उपचारका क्रममा नसा थप फुट्न सक्ने सम्भावना रहने भएकाले अत्यन्त सावधानीपूर्वक प्रक्रिया अपनाउनुपर्ने उनले बताए । ‘चिरफार नगरी विभिन्न प्रकारका शल्यक्रिया यसअघि पनि गरिएका छन्,’ डा.साहले भने, ‘तर यस प्रकृतिको जटिल मस्तिष्कीय नसाको शल्यक्रिया भने यहाँ पहिलोपटक सफलतापूर्वक गरिएको हो ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार