२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

वर्षा घट्यो, तराईमा बिस्तारै बढ्दैछ तातो

विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब बिस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम बिस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ ।

आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । सोमबार राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।

देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । बुधबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार