दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्म चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाबुछोराको मृत्यु भएको छ । रा.४ प.३३९० नम्बरको मोटरसाइकल र रा.१ ख.२१९२ नम्बरको टिपर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै लमही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोजकुमार नेपाली र उनका पाँच वर्षीय छोरा मिरान्त नेपाली रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका बाबुछोराको उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीया अनुषा परियार सामान्य घाइते भएकी थिइन् । उनको स्थानीय अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेकाले उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक दाङको शान्तिनगर गाउँपालिका–३ बस्ने ३९ वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
सत्यपाटी