जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१३, कार्कीगाउँदेखि नेपालगन्जतर्फ गइरहेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी आज बिहान मध्यपहाडी सडक अन्तर्गत भेरी नगरपालिका–८, चौखे ढुङ्गामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार बिहान ८ बजे दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको जानकारी दिए ।
सबै घाइतेहरूको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ । गाडीमा सवार आठ जनामध्ये गाडी चालक वर्ष २६ का खिमराज केसी सकुसल रहेको र अन्य सातै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा भेरी नगरपालिका–७ का वर्ष २७ की भावना विक, वर्ष २६ का आशिष विक वर्ष २८ कि तिर्सना विक, वर्ष २५ की लिला विक, भेरी ९ का वर्ष २२ का कमल परियार, वर्ष २६ का कमलराज घर्ती र भेरी १० का वर्ष २७ का तुल्सा मल्ल शाही रहेका छन् । दुर्घटना कसरी भएको सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी