२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

विद्यार्थीको दिवा खाजामा अब स्थानीय सखरखण्ड समावेश

सत्यपाटीसत्यपाटी । रुपन्देही । २०८३ जेठ १२ गते मंगलबार

रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएको छ । सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पालिकामा पर्याप्त मात्रामा उत्पादन हुने सुन्तला रङको गुणस्तरीय सखरखण्ड गाउँमै खपत गर्ने उद्देश्यले दिवा खाजामा समावेश गर्न अनुरोध गरिएको विद्यालयले स्पष्ट पारेको छ । स्थानीय किसानले उत्पादन गरेको सखरखण्ड विद्यार्थीको दिवा खाजामा समावेश गर्न गाउँपालिकाले नीति ल्याएको हो ।

गाउँपालिका अध्यक्ष नवराज ढकालका अनुसार पौष्टिकतत्वले भरिपूर्ण तथा भिटामिन ‘ए’ प्रशस्त पाइने सखरखण्डले विद्यार्थीको स्वास्थ्य, वृद्धि विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले दिवा खाजामा राख्न लागिएको हो ।

‘गाउँपालिकामा रहेका १९ सामुदायिक विद्यालयको दिवा खाजामार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सखरखण्ड खुवाउने कार्यक्रम अगाडि बढाएका हौँ,’ उनले भने । सुरुमा गाउँपालिकाभित्रका धेरै जग्गामा खेती गर्ने सात जना किसानलाई बाहिरबाट बीउ मगाएर खेती गर्न प्रोत्साहित गरिएको थियो ।

विद्यार्थीको दिवा खाजामा यो परिकार समावेश गर्ने विषयमा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग पहिलो चरणको छलफल भएको अध्यक्ष ढकालले बताए । दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि प्रत्यक्ष लाभ पुग्ने ढकालको भनाइ छ ।

‘यसको बजारीकरण भयो भने किसानको आम्दानीको स्रोत बन्छ,’ उनले भने, ‘अहिले सात जना किसानसँगै महिला समूह र महिला स्वयंसेविकाहरूलाई पनि यसको खेती गर्न बीउ उपलब्ध गराइएको छ ।’ विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई समावेश गर्नु दिगो पोषण व्यवस्थापनका लागि महत्त्वपूर्ण कदम हो ।

यसले बालबालिकामा अस्वस्थकर तथा हानिकारक खानाको निर्भरता घटाउन मद्दत गर्ने कञ्चन गाउँपालिकास्थित हरैया माविमा विद्यालयको दिवा खाजा कार्यक्रम हेर्ने शिक्षक भरत शर्मा बताउँछन् । ‘अहिलेसम्म विद्यालयमा खिर, हलुवा, समोसा लगायतका खाद्यपरिकार दिवा खाजामा राखिएको थियो । अबदेखि दिवा खाजा परिकारमा सुन्तला रङको सखरखण्ड मिसाएर खुवाउन सकिन्छ,’ उनले भने ।

परियोजना संयोजक भीमा पराजुलीका अनुसार ‘हेलेन केलर’ संस्थाको प्राविधिक सहयोगमा सुरु गरिएको सुन्तला रङको सखरखण्ड बङ्गलादेशबाट मगाएर नेपालमा खेती गर्न थालिएको हो । उनले कञ्चन गाउँपालिकामा पोषणको क्षेत्रमा काम गर्दै जाँदा सुन्तला रङको सखरखण्डमा भिटामिन ‘ए’ सहित अन्य पोषणतत्व प्रशस्त पाइने देखिएपछि गाउँपालिकासँगको सहकार्यमा दिवा खाजामा सखरखण्ड राख्ने कार्यक्रमलाई प्राविधिक सहयोग गरिएको बताएकी छन् ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार