२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

तीन विधामा विद्यावारिधिको पठनपाठन सुरु गर्दै नेपाली सेना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १२ गते मंगलबार

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम–एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् ।

संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा.देवेन्द्रबहादुर खत्रीले भने, ‘विद्यावाधि तह डिएमरएम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ । अब छिट्टै पठनपाठन थालनी हुनेछ ।’

संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम) सञ्चालित छन् भने स्नातकोत्तर तह एमडी रएमएसतर्फ १८ विषय तथा एएनतर्फ विभिन्न पाँच विषयको पठनपाठन हुँदै आएको छ ।

हाल स्नातक विषयमा एक हजार २१५ र स्नातकोत्तर तहअन्तर्गत विभिन्न विधामा २६५ विद्यार्थी अध्ययनरत छन् । ती स्नातक विषयमा एक हजार ५९२ विद्यार्थी दीक्षित भएको कार्यकारी निर्देशक उपरथी खत्रीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका शैक्षिक कार्यक्रमको सञ्चालन गरिएसँगै संस्थानद्वारा सञ्चालित शिक्षण अस्पताल वीरेन्द्र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ ।

स्नातक तथा स्नातकोत्तर तहमा विषय थप

संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको छ । संस्थानका कार्यकारी निर्देशक उपरथी प्राडा खत्रीका अनुसार संस्थानको शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्ने योजना रहेको छ ।

संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको उनले बताए । संस्थानले शैक्षिक कार्यक्रम साथसाथमा सस्थानमा खोज तथा अनुसन्धानलाई साथसाथमा प्रभावकारी रुपमा निरन्तर जारी राखेको छ ।

गतवर्ष सङ्कायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट २९२ वटा अनुसन्धान प्रस्ताव भएकामा २१५ प्रस्ताव स्वीकृत भएका उनले जानकारी दिए ।

खत्रीले भने, ‘सस्थानमा अनुसन्धानमूलक शैक्षिक वातावरण क्रमशः सुदृढ हुँदै गएको छ । शैक्षिक कार्यक्रमहरुलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन सस्थानले पाठ्यक्रमअनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई उच्च प्राथमिता दिएको छ ।’

लाइसेसिङ परीक्षामा शतप्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलद्वारा २०८२ सञ्चालन भएको लाइसेसिङ परीक्षामा संस्थानका एमबिबिएस तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी नेपाल हेल्थ प्रोफेशनल काउन्सिलबाट लिइएको लाइसेसिङ परीक्षामा बिपिएच तथा एमएलटी कार्यक्रमका र नेपाल नर्सिङ काउन्सिलद्वारा सञ्चालित लाइसेसिङ परीक्षामा पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो उत्तीर्ण हुनेमा संस्थान पहिलो भएको जनाइएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.मोहनराज शर्माले भने, ‘स्थापनाको छोटो अवधिमा गुणस्तरीय चिकित्सा शिक्षा र अनुसन्धान क्षेत्रमा संस्थानले ऐतिहासिक सफलता हात लागेको हो । चिकित्सा शिक्षाको जनशक्ति, अनुसन्धानसहित स्वास्थ्य सेवा प्रवाहमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले छोटो समयमा अब्बल प्रगति हासिल गरेको छ ।’

स्वास्थ्य विज्ञान क्षेत्रमा दक्ष, अनुशासित व्यावसायिक जनशक्ति उत्पादन, गुणस्तरीय शैक्षिक वातावरण सुनिश्चित गर्न, अनुसन्धान तथा नवीनत ज्ञानको प्रवद्र्धन गर्न, नेपाली सेनासहित समग्र राष्ट्रको स्वास्थ्य सेवाको गुणात्मक क्षमता अभिवृद्धि गर्ने ध्येयले तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङका पहलमा २०६७ भदौ ३० गते स्वास्थ्य विज्ञान संस्थानको स्थापना भएको थियो ।

हाल सस्थानमा ३८ प्राध्यापक, ६८ सह प्राध्यापक,१४२ उप प्राध्यापक सेवारत रहेका छन् । सस्थानबाट प्रकाशित मेडिकल जर्नलले अन्तराष्ट्रिय तहमा उच्च स्थानका साथ मान्यता पाएको छ । साथै नेपालबाट प्रकाशित हुने १० मेडिकल जर्नलभित्र पर्न सफल भएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार