बाँके जिल्लाको नेपालगन्जमा सञ्चालनमा रहेका धेरैजसो अटो रिक्सा लगायतका सवारीसाधनमा नम्बर प्लेट नदेखिएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले त्यस्ता सवारीसाधनमाथि निगरानी तथा कडाइ बढाउने अभियान सञ्चालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सडक दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाभर सवारीसाधनमाथि निगरानी र कडाइ बढाइएको बताए ।
उनका अनुसार दुर्घटना न्यूनीकरण तथा सवारीसाधनको पहिचान सहज बनाउन नम्बर प्लेट स्पष्ट नभएका अटो रिक्सा लगायतका सवारीसाधनलाई नियन्त्रणमा लिएर पुनः नम्बर लेखाउने कार्य भइरहेको छ ।
हालसम्म ट्याक्टर, मोटरसाइकल, इ–रिक्सा र अटो रिक्सा गरी १७६ भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएर ती साधनमा नम्बर स्पष्ट रूपमा देखिने गरी लेखाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक ओमबहादुर खड्काले नम्बर प्लेट मेटिँदा सवारीसाधन पहिचान गर्न कठिन हुने, दुर्घटना वा ट्राफिक नियम उल्लङ्घनका घटनामा अनुसन्धान प्रभावित हुने भएकाले यस्तो अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।
उनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीसाधनको अवस्था नियमित रूपमा जाँच गर्न तथा सुरक्षित यात्रामा ध्यान दिन निरन्तर आग्रह गर्दै आएको बताउए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पछिल्लो समय सडक सुरक्षा अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, चालक प्रशिक्षण, हेल्मेट तथा सिटबेल्ट प्रयोग सम्बन्धी अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ ।
प्रहरीले नागरिकको सहयोग, जिम्मेवारी र सचेतनाबाट मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने भन्दै ट्राफिक नियमको पालना गर्न सबैमा आग्रह गरेको छ ।
प्रहरीले बढी भार बोक्ने, सिटभन्दा बढी मानिस राख्ने, प्रतिबन्धित लाइट जडान गर्ने, मोडिफाइ गरेर चलाउने तथा अन्य नियम विपरीत कार्य गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाहीसमेत गरिरहेको जनाएको छ ।
सवारीसाधनको पहिचान सहज बनाउन सबै सवारीसाधनमा नम्बर प्लेट स्पष्ट रूपमा देखिने गरी अनिवार्य रूपमा राख्नुपर्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नम्बर प्लेट नभएका सवारीसाधनलाई कुनै पनि हालतमा सडकमा गुड्न नदिने जनाएको छ ।
सत्यपाटी