२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

दिउँसोबाट केही स्थानमा पानी पर्ने, शुक्रबारबाट देशभर बर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १२ गते मंगलबार

देशका केही स्थानमा आज वर्षासँगै हावाहुरीको सम्भावना छ । केही स्थानमा उच्च गर्मी हुनेछ । काठमाडौं लगायत केही भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी र मधेस प्रदेशका केही स्थानमा, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच, गएराति नेपालका धेरै ठाउँमा वर्षा भएको मौसमविद् विनोद पोखरेल बताउँछन् । आज पनि दिउँसोसम्म केही समय पानी रोकिए पनि फेरि अपराह्नबाट रातिसम्म वर्षा हुने सम्भावना रहेको उनले बताएका छन् ।

‘यो हप्ताभरि यस्तै मौसम हुनेछ । शुक्रबार पश्चिम नेपालको तराईमा वर्षा हुने सम्भावना छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, ‘अर्को हप्ता अलि थोरै ठाउँमा वर्षा हुने देखिन्छ । र, वर्ष पनि कम हुनेछ ।’

जलवायूविज्ञ धर्मराज उप्रेतीले पनि शुक्रबारबाट देशभर वर्षाको सम्भावना रहेको बताएका छन् । ‘आगामी शुक्रबारबाट पश्चिम नेपालसहित देशभरि नै मध्यम वर्षाको सम्भावना छ,’ उनले फेसबुकमा लेखेका छन् । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार