२०८३ जेठ ९ , शनिबार 23, May 2026, Saturday
तराईमा अत्यधिक गर्मी

तराईमा ‘लु’ चल्यो, नेपालगन्जमा ‘लो भोल्टेज’ र बत्ती जाँदा नागरिकलाई सास्ती

गर्मीले जनजीवन प्रभावित भएसँगै विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपरेको छ । कम (लो) भोल्टेजका कारण घर तथा कार्यालयमा पङ्खा राम्ररी चल्न सकेका छैनन् भने पानी तान्ने मोटर लगायत उपकरण बिग्रिएका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ ९ गते शनिबार

बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानदेखि लाग्ने चर्को घामले सडकमा आवतजावत निक्कै पातलो छ ।

उखरमाउलो गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । कडा घामसँगै प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) चल्दा हिँडडुल गर्न निक्कै सास्ती भएको छ । अत्यावश्यक कामबाहेक स्थानीयहरु घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

अत्यधिक गर्मीका कारण बाँकेमा सबैभन्दा बढी प्रभावित मजदुर, रिक्सा चालक र खुला ठाउँमा काम गर्ने भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । चिकित्सकहरुले गर्मी बढ्दा र तातो हावा लु चलिरहेकोले बढी भन्दा बढी पानी खान आग्रह गर्दै झोलिलो खानेकुरा बढी खान तथा अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको चिकित्सकहरु बताउँछन् । जिल्लाको भेरी अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर २५० बढी गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

तातो हावाले हिँड्नै सकस भएपछि स्थानीय तहहरुले विद्यालय बन्द गरेका छन् भने गर्मीका कारण यहाँका सरकारी तथा नीजि अस्पतालमा ज्वरो, रुघाखोकी, आउँ, टाइफाइड, झाडापखाला र छाला रोगका बिरामी बढेका छन् । अत्यधिक गर्मीका कारण बेहोस हुने, छालामा असर हुने, रिंगटा लाग्ने समस्या हुने, रक्तचाप पनि कम हुने, शरीरमा ग्लुकोजको मात्रा कम हुने लगायतका समस्या देखिने गरेका छन् । शरीरमा पानीको मात्रा घट्दा मृगौला लगायतका अंगमा समस्या हुने चिकित्सकहरु बताउँछन् ।

गर्मीका कारण शरीरमा पानीको मात्रा घट्न नदिई पानीको मात्रा बढाउन कम्तीमा पाँच लिटर पानी पिउन चिकित्सकहरुले सुझाएका छन् । तातो लू चल्न थालेपछि अस्पतालमा बिरामीको संख्या बढेको छ । जेठको सुरुदेखि गर्मी बढेको हो । गर्मीमा विद्युत नियमित नहुँदा आमनागरिक ठुलो सास्ती खेप्न बाध्य छन् । बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय प्रचण्ड गर्मीको बेला पटकपटक विद्युत आपूर्ति बन्द हुने र धेरै बेरसम्म नआउने हुँदा सास्ती खेप्न बाध्य छन् ।

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नुपरेको छ । नेपालगन्जमा विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्यहोर्नुपरेकोे छ । ‘विद्युत झ्यापझ्याप गइरहन्छ, बत्ती नहुँदा घरभित्रै बस्न पनि गाह्रो भएको छ,’ नेपालगन्जका दीपक हमालले भने । नेपालगन्जमा अत्यधिक गर्मीबाट राहत पाउन पंखा, कुलर, एसी लगायतका इलेक्ट्रोनिक सामानहरुको खपत र बिक्री दोब्बरले बढेको छ ।

गर्मीले दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ । जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको छ । आफ्नै जग्गा जमिन नभएकाले विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी ३० वर्षीया कृष्णी थारूले सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताइन् । ‘बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउलाजस्तो हुन्छ । तर काम नगरी सुखै छैन । मैले काम गर्नैपर्छ,’ उनले भनिन् ।

गर्मीयाममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने मजदुरहरु बताउँछन् । ‘घाम अनि तातो हावाले बिरामी नै पार्लाजस्तो भएको छ । तर पेट पाल्न काम त गर्नपर्यो । मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन,’ उनले भनिन्, ‘गर्मीले दुईछाक टार्न कठिन भएको छ, तर जसरी पनि काम गरौँ भने चढ्ने मान्छे नै पाइँदैन ।’ उनको जस्तै अनुभव नेपालगन्जमा दैनिक मजदुरी गर्ने धेरैको छ । नागरिकको दैनिक जनजीवनमात्रै नभई कामका लागि सरकारी कार्यालयमा जान पनि कठिन भएको सेवाग्राहीहरु बताउँछन् ।

सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको छ । काम विशेषले हुम्लाबाट नेपालगन्ज झरेकी मनमाया बस्नेतले गर्मीका कारण आफ्नो काम प्रभावित भएको बताइन् । उनले भनिन् ‘नेपालगन्जमा गर्मी खान आएकोजस्तो मात्र भएको छ ।’ सुर्खेतका भीमप्रसाद काफ्लेले पनि नेपालगन्जमा टिक्नै नसक्ने गर्मी महसुस भइरहेको बताए । ‘सुर्खेतबाट यता आउँदा साह्रै गर्मी महसुस भयो, शरीरभरि बिमिरा आइसक्यो । दिउँसोको समयमा घरभित्र बस्नसमेत समस्या भइसक्यो,’ उनले भने ।

वर्षौँदेखि नेपालगन्ज बस्दै आएका मानिसहरू पनि पहिलेको तुलनामा गर्मी बढ्दै गएको अनुभव सुनाउँछन् । स्थानीय भक्त पुनले गर्मी छल्न दैनिक चार पटकसम्म चिसो पानीले नुहाउने गरेको बताए । उनले भने, ‘त्यत्तिकै बस्दा पनि खलखली पसिना आइराख्छ, नुहाएको १० मिनेटमा फेरि उस्तै पसिना आउन थाल्छ ।’ नेपालगन्जकै राधिका थापाले उनले भनिन्, ‘दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोलेजस्तो हुन्छ । घरभित्र पनि भोल्टेज कम भएर होला, पङ्खाले राम्ररी हावा पनि दिँदैन ।’

यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उनले बताए । जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगन्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । मौसम विभागका प्रमुख अवस्थीले आज साँझ ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गर्दै दिउँसो २ः०० देखि ५ः४५ बजेसम्मको तापक्रमलाई आधार मानी पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

उनले बिहीबार यस वर्षको सबैभन्दा बढी ४१ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ ४ गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताए । प्रमुख अवस्थीले तातो दिन, अधिक तातो दिन र अत्यधिक तातो दिनका रूपमा तापक्रम अनुसार वर्गीकरण गरिने उल्लेख गर्दै कोहलपुरबाहेक राँझा विमानस्थल र खजुरा स्टेसनबाट लिइएको तापक्रम अनुसार निर्क्यौलमा पुगिने जानकारी दिए । ‘एक दिन गर्मी हुँदा अर्को दिन अलि कम हुने अवस्था पनि देखिएको छ तर गर्मी बढ्दै गएको छ,’ उनले भने ।

गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा यस क्षेत्रका स्थानीयले सास्ती खेपिरहनुपरेको छ । विद्युत् आपूर्ति भए पनि कम (लो) भोल्टेजका कारण घर तथा कार्यालयमा पङ्खा राम्ररी चल्न सकेका छैनन् भने पानी तान्ने मोटरलगायत उपकरण बिग्रिएका नेपालगञ्ज–९ का शिवदत्त भट्टले बताए । उनले विद्युत् आपूर्ति नियमित नहुँदा धेरै सास्ती झेल्नुपरेको उल्लेख गर्दै बर्सेनि देखिने यस्तो समस्या शीघ्र समाधान गर्न आग्रह गरे ।

विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा लोड (भार) भएकाले त्यसको असर नेपालगन्जको विद्युत् लाइनमा परेको जानकारी दिए । उनले भने, ‘व्यक्तिगत रूपमा दिनरात नियमित विद्युत् आपूर्तिको पक्षमा पहल गरिरहेको छु । तर कोहलपुर ग्रिड शाखाबाट सबस्टेसनमा वितरण हुने विद्युत् ‘लो भोल्टेज’को भएकाले समस्या देखिएको हो ।’

इन्जिनियर मिश्राले कोहलपुर ग्रिडको १३२–३३ केभी प्रसारण लाइनमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि जानकीको बकसपुरमा निर्माणाधीन प्रसारण लाइनको काम सम्पन्न भएपछि हुने बताउँदै योसँगै नेपालगन्जमा देखिएको विद्युतको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन अहिलेसम्म आठ वटा विद्युत् ट्रान्सफर्मर परिवर्तन गरिएको जानकारी दिए । ‘जहाँ समस्या देखिएको छ, त्यहाँ नयाँ फिडरको व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार