२०८३ भदौ १९ , शुक्रबार 5, September 2026, Saturday

नर्वेमा मोदीको कार्टुन छापिएपछि भारतमा चर्को आलोचना

एक नर्वेजियन पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सपेराको रूपमा चित्रण गरिएको एउटा कार्टुन प्रकाशन गरेपछि यतिबेला भारतमा भाजपा समर्थकहरूले चर्को आलोचना गरिरहेका छन् । ‘आफ्टेनपोस्टेन’ पत्रिकामा प्रकाशित उक्त चित्रमा मोदीलाई सर्पजस्तो आकारको इन्धन–स्टेसनको पाइप समातिरहेको देखाइएको छ । यो पत्रिका नर्वेको एक राष्ट्रिय दैनिक हो र नर्वेजियन भाषामा प्रकाशित हुने गर्छ ।

उक्त कार्टुनले जातीय भेदभाव र औपनिवेशिक अहंकारको आरोप निम्त्याएको भारतभर चर्चा भइरहेको छ । आलोचकहरूले यस चित्रले ती पुराना रुढीवादी धारणाहरूलाई बलियो बनाएको बताइरहेका छन्, जसले कुनै समय भारतलाई सपेराहरूको देशको रूपमा चित्रण गथ्र्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त पत्रिकाको चर्को आलोचना गरेका छन्, साथै भारतका निर्वाचित नेताप्रति ुअपमानु भनेका छन् ।

यो विवाद मोदीको हालैको नर्वे भ्रमणका क्रममा भएको हो, जहाँ पत्रकार हेले लिङले प्रधानमन्त्री जोनास गहर स्टोरसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले किन पत्रकारहरूको प्रश्न नलिएको भनी प्रश्न गरेकी थिइन् । मोदीले कुनै जवाफ दिएनन्, तर लिङले उक्त कुराकानीलाई अनलाइनमा पोस्ट गरिन्, जसले भारतमा प्रेस स्वतन्त्रता र मानव अधिकारबारे बहस चर्काएको छ ।

कूटनीतिज्ञ सीबी जर्जमार्फत भारतको विदेश मन्त्रालयले उक्त आलोचनाको कडा खण्डन गरेको छ । उनले भारतको लोकतान्त्रिक संरचना, संवैधानिक ग्यारेन्टीहरू र यहाँका (भारत) विशाल मिडिया परिदृश्यमाथि प्रकाश पार्दै आलोचकहरूलाई प्रायः अज्ञानी गैर(सरकारी संस्थाहरूका छनोट गरिएका प्रतिवेदनहरू भनेका छन् ।

यो प्रतिक्रियाले सन् २०२२ को यस्तै प्रकारको आक्रोशको सम्झाएको छ, त्यतिबेला एउटा स्पेनिस पत्रिकाले भारतको आर्थिक उदयबारे समाचारमा सपेराको प्रतीक प्रयोग गरेको थियो । मोदी स्वयंले त्यसलाई कसरी भारत सपेराहरूको देशको रुढीवादी छविबाट अब माउस चार्मरहरू (कम्प्युटर माउस चलाउनेहरू)को प्रविधि–सञ्चालित देश बनेको छ भनी प्रस्ट्याएका थिए ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार