२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

कुकर उत्पादन गर्ने उद्योगमा आगलागी

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ ६ गते बुधबार

बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको छ । विभिन्न प्रकारका खाना पकाउने कुकर उत्पादन गर्दै आएको भिएमआई ग्रुपको बाँके पार्वतीपुरस्थित वर्षा रिसाइक्लिङ प्लान्टमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको समूहका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यले बताए ।

उनले आगलागीबाट उद्योगमा ठुलो क्षति पुगेको जानकारी दिँदै क्षतिको यकिन विवरण सङ्कलन भइरहेको र प्रारम्भिक अनुमान अनुसार लाखौंको क्षति भएको बताए । अध्यक्ष वैद्यले भने, ‘झण्डै तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो । मुख्य उद्योग क्षेत्रमा क्षति हुनबाट जोगाउन सफल भए पनि कच्चा पदार्थ भण्डारण गरिएको गोदाम पूर्ण रूपमा जलेकाले ठुलो क्षति भएको छ ।’

नेपालगन्ज र कोहलपुरबाट पुगेका दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा राति करिब ८ बजे आगो नियन्त्रणमा लिइएको थियो । प्रत्यक्षदर्शीका अनुसार उद्योग पछाडि खेतमा लगाइएको आगो फैलिएर उद्योगसम्म पुगेपछि आगलागी भएको हो । आगलागीको कारण र क्षतिको विवरणबारे प्रहरीले अनुसन्धान तथा विवरण सङ्कलन गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार