२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

क्यासिनोको आवरणमा नेपालगन्जमा अपराध बढ्ने जोखिम

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ ६ गते बुधबार

भारतसँग जोडिएको बाँकेको जमुनाह नाका हुँदै नेपालगन्ज आउने भारतीय पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । नेपाल–भारत खुला सीमा नाकाका कारण एकातिर व्यापार, पर्यटन र आवतजावत सहज बनेको छ भने अर्कोतर्फ अपराध नियन्त्रण पनि थप चुनौतीपूर्ण बन्दै गएको व्यवसायीको भनाइ छ ।

विशेषगरी मदिरा सेवन, क्यासिनो खेल तथा मनोरन्जनका लागि आउने पर्यटकका कारण यहाँको स्थानीय पर्यटन व्यवसाय चलायमान बनेको भए पनि सुरक्षाको विषयमा भने सरोकारवालाको ध्यानाकर्षण भएको छ । स्थानीय अगुवा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले खुला सीमाको फाइदा उठाउँदै अपराध गरेर अर्को देशमा लुक्ने प्रवृत्ति बढ्दो रहेको बताए ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा हतियार ओसारपसार, लागुऔषध कारोबार तथा मानव तस्करी जस्ता अवैध गतिविधि अझै चुनौतीका रूपमा रहेका छन् । ‘सीमानाकाबाट हुने गतिविधिमाथि सुरक्षा निकाय थप गम्भीर हुन आवश्यक छ,’ उनले भने, ‘अपराध गरेर अर्को देशमा आश्रय लिने प्रवृत्तिले सुरक्षा जोखिम बढाएको छ ।’

बाँके, बर्दिया लगायतका क्षेत्रमा पछिल्लो समय क्यासिनो र होटेल व्यवसाय विस्तार भएसँगै भारतीय पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको छ । क्यासिनो खेल्न, मदिरा सेवन गर्न तथा यहाँको वातावरणमा रमाउन आउने पर्यटकले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि पर्यटकको आवरणमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भित्रिन सक्ने जोखिम कायमै रहेको व्यवसायीको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ नेपालगन्जका उपाध्यक्ष चिरञ्जीवी ओलीले पर्यटन प्रवर्द्धनसँगै सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले बाँके र बर्दियालाई पर्यटकीय गेटवे तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेका बेला पर्यटकलाई सम्मानजनक व्यवहार र सुरक्षित वातावरण दिन सके नेपालप्रति सकारात्मक सन्देश जाने र त्यसले पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले सुरक्षा सतर्कता र पर्यटकमैत्री वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखिएको बताए । प्रशासनले सुरक्षा जाँचलाई प्रभावकारी बनाउँदा पर्यटकले अनावश्यक झन्झट महसुस नगर्ने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले क्यासिनो पर्यटनसँगै सुरक्षा चुनौती बढेको स्विकार्दै आपराधिक क्रियाकलाप रोक्न सुरक्षा संयत्रले सतर्कताका साथ काम गरिरहेको बताए ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार