२०८३ जेठ ५ , मंगलबार 19, May 2026, Tuesday

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरे कारबाही

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८३ जेठ ५ गते मंगलबार

जिल्ला प्रशासन कार्यालय जुम्लाले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए ।

जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताए । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडलेको भनाइ छ ।

जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । नदीनालाबाट जबर्जस्ती ढुंगा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व संकलनमा वृद्धि गर्न जथभावी उत्खनन गरेका नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए । विपद्का बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रुपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार