पालुङटार नगरपालिकाको आयोजनामा ‘पालुङटार भजन महोत्सव–२०८३’ भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
भजन महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार नारायण स्याङ्तान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइला, मीना थापा, लक्ष्मी पौडेल लगायतका कलाकारहरूको सहभागिता रहने जनाइएको छ ।
साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले पनि आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन् । कार्यक्रममा विशेष भजन प्रस्तुति अन्तरगत राधाकृष्ण भजन, राम तथा कृष्णभक्ति गीत, नृत्य तथा सांस्कृतिक झाँकीहरू समेत समावेश गरिने आयोजकले जनाएको छ । धार्मिक भावनासँगै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवलाई राष्ट्रिय लोक भजन बुढाका संरक्षण प्रतिष्ठान, नेपालले सहयोग गर्ने भएको छ ।
साथै ओंकार योग आयुर्वेद गुरुकुल तथा ओंकार परिषद्ले महोत्सवको व्यवस्थापनमा सहकार्य गरेका छन् । आयोजकका अनुसार कार्यक्रम आगामी जेठ २५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । महोत्सवमा पालुङटार नगरपालिका तथा आसपास क्षेत्रका धर्मप्रेमी, संगीतप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको ‘पालुङटार भजन महोत्सव–२०८३’ ले स्थानीय पर्यटन, कला तथा सांस्कृतिक पहिचान प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
सत्यपाटी