२०८३ जेठ ३ , आइतबार 17, May 2026, Sunday

नेपालमा हान्टाभाइरस जोखिम ‘अत्यन्त न्यून’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ३ गते आइतबार

पछिल्लो समय केही देशका नागरिकमा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ । एट्लान्टिक महासागरमा सञ्चालित होन्डियस नामक क्रुज जहाजमा सात बिरामी फेला र तीनजनाको मृत्यु भएको घटनापछि यो भाइरस पुनः चर्चामा छ । तर, अरू धेरै देशमा जस्तै नेपालमा हालसम्म हान्टाभाइरस संक्रमण पुष्टि नभएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

नेपालमा तत्काल यसको जोखिम पनि अत्यन्त न्यून रहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको उक्त केन्द्रले स्पष्ट पारेको छ । ‘हाल चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको छ,’ केन्द्रले भनेको छ ।

हान्टाभाइरस के हो ?

हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो । यो मुख्यतया संक्रमित मुसाको पिसाब, दिसा, ¥याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुनसक्छ । मानिसबाट मानिसमा यो संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुने वैज्ञानिक अध्ययन रहेको केन्द्रले जनाएको छ ।

‘सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहन्छ,’ केन्द्रको सूचनामा उल्लेख छ । नेपालमा यसको जोखिम अत्यन्त न्यून भए पनि केन्द्रले सुरक्षित रहन केही सावधानी अपनाउन सुझाव दिएको छ । घर तथा वरपरको वातावरण सफा राख्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न केन्द्रले आग्रह गरेको छ ।

‘मुसाको फोहोर सफा गर्दा मास्क तथा पन्जा प्रयोग गरौँ, हात साबुनपानीले नियमित धुने बानी बसालौँ, ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ,’ केन्द्रको थप सुझाव छ । केन्द्रले यसबारे अफवाहमा नपर्न र अनावश्यक आतंक सिर्जना नगर्न पनि आग्रह गरेको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा आधिकारिक निकायबाट जारी सूचना मात्र विश्वास गरौँ,’ केन्द्रले भनेको छ ।

प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार