कञ्चनपुरको उल्टाखाम–महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले आगामी साउन १० गते आठ वर्ष पूरा गर्दैछ । तर, देशभर हलचल मच्चाएको यो बहुचर्चित प्रकरणमा आजसम्म पनि वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । आठ वर्षको अवधिमा सरकार फेरिए, प्रहरी नेतृत्व बदलियो, सात वटा छानबिन समिति बने, सयौंसँग सोधपुछ भयो, तर न्याय अझै अधुरै छ ।
२०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला त्यस दिन घर फर्किनन् । परिवारले प्रहरी गुहारे, आफन्त र छिमेकीसँगै रातभर खोजी गरियो । भोलिपल्ट ११ साउनमा उखुबारी नजिक उनका कापी–किताब छरिएको अवस्थामा भेटिए भने शव उखुबारीभित्र फेला परेको थियो । पोस्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि गर्यो ।
अभियुक्त सार्वजनिक भए, तर अनुसन्धान झन् पेचिलो बन्यो
घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्यो । प्रहरीले उनको ‘साबिती बयान’समेत भएको दाबी गर्यो । तर, डीएनए नमिलेपछि अनुसन्धानले नयाँ मोड लियो । त्यसपछि पक्राउ गरिएका अन्य दुई स्थानीय युवाको डीएनए पनि नमिलेपछि उनीहरू छुटे र घटनाले थप रहस्यमय रूप लियो । घटनापछि कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र उनका छोरासम्मको डीएनए परीक्षण गरिएको थियो ।
अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा एसपीसहित आठ प्रहरी अधिकृतविरुद्ध मुद्दा चलाइयो । पछि कतिपय अधिकारी अदालतबाट सफाइ पाए भने विभागीय कारबाही पनि फुकुवा गरियो । पूर्व डिआइजी हेमन्त मल्लका अनुसार, यो घटनामा अनुसन्धानको सुरुमै गम्भीर कमजोरी हुँदा प्रहरी सफल हुन सकेन । उनले भनेका छन्, ‘सबैभन्दा बढी प्रमाण हुने बलात्कारको घटनामा नै प्रमाण सुरक्षित रहन सकेन, त्यसैले अनुसन्धान जटिल बन्यो ।’
सात समिति, तर नतिजा शून्य
निर्मला हत्या प्रकरणमा विभिन्न समयमा सात वटा छानबिन समिति गठन भए । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगदेखि सिआइबीसम्मका समितिले अनुसन्धान गरे पनि ठोस निष्कर्ष निकाल्न सकेनन् । अहिलेसम्म प्रहरीले १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरिसकेको छ ।
तर, दरिलो प्रमाणको अभावमा अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । हाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा एसएसपी कृष्ण पंगेनी नेतृत्वको १५ सदस्यीय विशेष टोलीले पुनः अनुसन्धान अघि बढाइरहेको छ । टोलीले पुराना प्रतिवेदन पुनरावलोकन, कल डिटेल विश्लेषण, डिजिटल फरेन्सिक र ह्युमन इन्टेलिजेन्समार्फत नयाँ ‘क्लु’ खोज्ने जिम्मेवारी पाएको छ ।
सरकार फेरिए,न्याय आएन
निर्मला हत्या हुँदा देशमा तत्कालीन नेकपाको शक्तिशाली सरकार थियो । त्यसबेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए । त्यसयता आठ जना गृहमन्त्री फेरिइसके, तर यो प्रकरण निष्कर्षमा पुग्न सकेन । घटनालाई प्रमुख एजेन्डा बनाएका नेताहरू सत्तामा पुगे पनि न्यायको विषय ओझेलमा परेको भन्दै आलोचना हुँदै आएको छ । नयाँ सरकार र प्रहरी नेतृत्वमाथि अहिले पनि यो प्रकरण टुंग्याउने दबाब कायम छ ।
‘म थाकेकी छैन, किनकि म आमा हुँ’
निर्मलाकी आमा दुर्गादेवी पन्त भने अझै न्यायको प्रतीक्षामा छिन् । वर्षौं संघर्ष गर्दा पनि छोरीका हत्यारा सार्वजनिक नहुँदा उनी भक्कानिन्छिन् । ‘साथीकोमा पढ्न जान्छु भनेर घरबाट निस्केकी छोरीको लास देख्नुपर्दा आमाको मनमा के बित्यो होला ? मैले देशभरिका मान्छेलाई भनेँ, आवाज उठाएँ, तर म हारेँ,’ उनी भन्छिन्, ‘मरेर गएकी छोरीलाई न्याय दिलाउन नसकेको दुःख मलाई जिन्दगीभर रहनेछ ।’
उनले थपिन्, ‘एक मनले आशा मरिसक्यो जस्तो लाग्छ, फेरि अर्को मनले भन्छ, ढिलो भए पनि न्याय पाउनेहरू छन् । सास छउन्जेल न्याय मिल्ला भन्ने आशा गर्न छोड्दिनँ ।’ देशभर आन्दोलन उठाएको, सडक तताएको र प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको निर्मला पन्त हत्या प्रकरण आज पनि नेपालको सबैभन्दा रहस्यमय र संवेदनशील आपराधिक घटनामध्ये एक बनेको छ । आठ वर्षपछि पनि एउटी आमाको प्रश्न उही छ, ‘मेरो छोरीको अपराधी कहिले पत्ता लाग्छ ?’
सत्यपाटी