पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथ अन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिक मात्रामा गुड्ने हुँदा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावरमैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गरे । सवारीसाधनको ठक्करले राजमार्गमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको बताउँदै उनले भने, ‘निकुञ्जको कोरएरिया पर्ने आठ किलोमिटरमा ओभरपास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो ।’
अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । पथलैया–अमलेखगञ्ज सडकखण्डमा सवारी दुर्घटनामा परेर दुई वटा जरायो, पाँच वटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिए ।
प्राकृतिक कारणले अन्य तीन वटा जनावरको मृत्यु भएको छ । सूचना अधिकारी भगतले सवारी दुर्घटनाबाट वन्यजन्तु जोगाउनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । साथै उनले सवारी चालकलाई थप ट्राफिक सचेतना उपलब्ध गराउन सरोकार भएका सबैले समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले सडक विस्तार गर्दा निकुञ्ज क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने लगायत सुझाव आएकाले सडक विभागमा पठाइएको जानकारी दिए ।
निकुञ्जमा ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार
पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ रेस्क्यु टिम बोलाउनुपथ्र्याे । तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेपछि घाइते भएका वन्यजन्तुको उद्धार र उपचारमा सहज भएको बताए । ‘विगतमा वन्यजन्तु घाइते वा दुर्घटना हुँदा चितवन राष्ट्रिय निकुञ्जबाटै टोली बनाउनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले यहाँबाटै हुँदा धेरै सहज र छिटो उद्धार सम्भव भएको छ ।’ सूचना अधिकारी भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालक लगायत रहेको बताए ।
‘वन्यजन्तु घाइते तथा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा बारा, पर्सा, रौतहट, मकवानपुरसम्म जाने गरेका छौँ,’ उनले भने । कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म पाटेबाघ एक, चित्तल छ वटा, गोमनसर्प १०० बाट उद्धार गरेको जनाएको छ । त्यस्तैगरी किंग कोब्रा २५ वटा, अजिङ्गर १५ वटा, सालक एक वटा र अन्य वन्यजन्तु तीनवटा उद्धार गरेर उपचारपछि प्राकृतिक वासस्थलमा छाडेको निकुञ्जले जनाएको छ ।
सत्यपाटी