राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (मंगलबार)सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक अधिकारीले दिएको जानकारी अनुसार भोलि अबेलासम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ ।
‘विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम हिजै सकिएको छ,’ उनले भने, ‘आज हामी प्राविधिकलाई त्यो प्राप्ताङ्क जिम्मा लगाउँछौँ । कुनै प्राविधिक त्रुटी देखिएन भने भोलि नतिजा आउँछ ।’
विगतका वर्षमा परीक्षा सकिएको तीन महिनाभित्र एसइईको नतिजा प्रकाशन हुन्थ्यो । यस पटक भने बोर्डले पहिलो पटक एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो । बालेन शाह नेतृत्वको नयाँ सरकारले एसइईको नतिजा सुरुमा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल गरेको थियो ।
तर, हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र बोर्डका अधिकारीबिच सहमति भएको हो । नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको छ भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो । यस वर्षको एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए । तर, तीमध्ये कति जना परीक्षामा सहभागी भए भन्ने यकिन तथ्याङ्क नतिजा सार्वजनिक भएको दिन मात्रै थाहा हुने बोर्डले जनाएको छ । फाराम भरेकामध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् । गत वर्ष चैत दोस्रो साता सकिएको एसईई परीक्षाको नतिजा असार १३ गते प्रकाशित भएको थियो ।
सत्यपाटी