२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

देशभर विभिन्न वायुको प्रभाव, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २८ गते सोमबार

नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

यसका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ भने देशका अन्य भू–भागहरूमा आंशिक बादल देखिएको छ । हाल कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल रहने जानकारी दिएको छ । दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि मौसममा सुधार हुने देखिएको छैन ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने देखिएको छ । वर्षासँगै हिमाली क्षेत्रका कतिपय स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार