२०८३ भदौ १८ , बिहीबार 4, September 2026, Friday

११ वर्षपछि ग्रामीण सडक कालोपत्र

विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो ।

सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उनको भनाइ छ ।

अध्यक्ष गौतमले भने, ‘जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्र सडक पुग्नेछ ।’ सङ्घीय सरकारले विनियोजन गरेको रु दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्र भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रको काम भएको हो ।

विसं २०८२ वैशाखमा हिलसाइड–पीके जेभीले आगामी जेठ २५ गते सक्नेगरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए । एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्र गर्नेसम्मको काम गरेको उहाँको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्र गर्न ठूलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन् ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार