२०८३ असार ९ , मंगलबार 24, June 2026, Wednesday

नेपालमा टियर-४ हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २६ गते शनिबार
एआईको सहयोगमा तयार पारिएको डाटा सेन्टरको सांकेतिक तस्वीर ।

गुगलसँगको अन्तर्राष्ट्रिय साझेदारीसहित चोभारमा टियर–४ डाटा सेन्टर बन्ने भएको छ । यसका लागि हालै निजी लगानीकर्ता र विश्वस्तरीय प्रविधि कम्पनीहरूले काठमाडौं र वीरगञ्जमा टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माणका लागि सहकार्य गरिरहेका छन् । बिचुटेन डाटा भल्ट नामक कम्पनीले नेपालमा टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले यो महत्वाकांक्षी परियोजनामार्फत नेपाललाई दक्षिण एसियामा भरपर्दो डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । डाटा सेन्टर काठमाडौंको चोभार र वीरगञ्ज गरी दुई स्थानमा निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु गरिने यो परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतासम्म विस्तार गर्ने योजना छ ।

कम्पनीका अनुसार टियर–४ स्तरको यो डाटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ । यसले बैंकिङ, दूरसञ्चार तथा सरकारी डिजिटल सेवाजस्ता महत्वपूर्ण क्षेत्रका लागि अत्यन्त भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । परियोजनामा नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल लगायत नेपाली उद्यमीहरूको सहभागिता रहेको छ ।

बिचुटेन डाटा भल्टले गुगल क्लाउड, एएमडी, माइक्रोन र भीभीडीएनजस्ता विश्वस्तरीय प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी पनि गरेको छ । यी सहकार्यहरूले नेपालमा उन्नत कम्प्युटिङ, क्लाउड पूर्वाधार तथा अत्याधुनिक प्रविधि भित्र्याउने अपेक्षा गरिएको छ । कम्पनीको दीर्घकालीन योजनामा स्थानीय डाटा सार्वभौमिकता सुनिश्चित गर्ने, विदेशी सर्भरमाथिको निर्भरता घटाउने तथा राष्ट्रिय साइबर सुरक्षा पूर्वाधारलाई मजबुत बनाउने लक्ष्य समावेश छ ।

यसका साथै, भविष्यमा नेपालमै सर्भर, ल्यापटप, ट्याब्लेट र क्यामरा उत्पादन गर्ने सम्भावनाबारे पनि अध्ययन गरिने कम्पनीले जनाएको छ । यसले नेपालको प्रविधि क्षेत्रलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । डाटा सेन्टर पूर्ण रूपमा जलविद्युत् ऊर्जाबाट सञ्चालन गरिनेछ । यसले परियोजनालाई वातावरणमैत्री र ऊर्जा–दक्ष बनाउने बताइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार