बाँकेको जानकी गाउँपालिका लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका भित्रका एक हजार ११७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
पालिका स्तरीय खोप समन्वय समितिका उपाध्यक्ष समेत रहेकी जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले पालिकाका ३४ वटै खोप केन्द्रमार्फत प्रत्येक महिना नियमित खोप सेवा सञ्चालन गर्दै कार्यक्रम सफल बनाइएको जानकारी दिइन् ।
उनका अनुसार छुटेका ५८ जना बालबालिकाको समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो । उपाध्यक्ष यादवले समाजमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेका कारण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूले निकै मेहनत गर्नुपरेको स्मरण गरिन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै उनले समुदायमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहेको बताउँदै जानकी गाउँपालिकाको प्रशंसा गरिन् ।
उनले जिल्लामै पहिलो पूर्णखोप घोषणा गर्ने पालिकालाई बधाईसमेत दिइन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिका प्रवक्ता टिकानाथ यादवले जानकारी दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले स्वास्थ्य क्षेत्रमा जानकी गाउँपालिका लुम्बिनी प्रदेशमै उत्कृष्ट रहेको उल्लेख गर्दै जिल्लामै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पालिकालाई बधाई दिइन् ।
जानकी गाउँपालिका–६ का वडाध्यक्ष जगदिश प्रसाद हरिजन तथा सामाजिक विकास समितिका संयोजक रामअचल धोबीले पनि खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे । पूर्णखोप सुनिश्चितता घोषणा पश्चात् पालिकाका स्वास्थ्य संयोजक दलबहादुर रानालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांशले स्वास्थ्य सम्बन्धी खोप, टीका र अन्य औषधी सेवनमा जानकी अन्य पालिका भन्दा अगाडि रहेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि स्वास्थ्यकर्मीको भूमिका अतिनै सराहनीय रहेको बताए । बाँकेका आठ पालिकामध्ये जानकी पूर्ण खोप घोषणा गरेर प्रथम बनेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष सिता कार्की, वडा नं.१ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.२ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नं.३ का अध्यक्ष राजकुमार बर्मा, वडा नं.५ का अध्यक्ष टिकानाथ यादव, आइटी अधिकृत बिकास जिसी, वडा नं.६ का सदस्य अजमत अलि, कार्यपालिका सदस्य निर्मला हरिजन लगायतको सहभागिता थियो ।
सत्यपाटी