२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

नियमित परीक्षणले घटाउँछ स्तन क्यान्सरको जोखिम

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २६ गते शनिबार

विश्वभर महिलामा बढ्दो स्वास्थ्य समस्यामध्ये स्तन क्यान्सर एक प्रमुख चुनौती बनेको छ । यसले युवतीदेखि वृद्ध महिलासम्मलाई प्रभावित पारिरहेको छ । अझै पनि धेरै महिलामा स्तन क्यान्सरबारे डर, भ्रम र गलत धारणा कायम रहेको चिकित्सकहरू बताउँछन् । तर, समयमै पहिचान र उचित उपचारबाट स्तन क्यान्सर निको पार्न सकिने विशेषज्ञहरूको भनाइ छ ।

भारतको म्याक्स सुपर स्पेशालिष्ट अस्पतालका निर्देशक तथा स्तन क्यान्सर सर्जन डा.राजिन्दर कौरले सुरुवाती अवस्थामा रोग पहिचान भए सजिलै निदान गर्न सकिने बताउँछिन् । उनका अनुसार अहिले ‘अनकोप्लास्टिक ब्रेस्ट कन्जर्भिङ सर्जरी’ जस्ता आधुनिक प्रविधिबाट गाँठो मात्रै हटाएर स्तनको आकार सुरक्षित राख्न सकिन्छ । ‘स्तन क्यान्सर हुनु भनेको स्तन हटाउनु अनिवार्य होइन,’ उनले भनिन् । धेरैजसोलाई स्तन क्यान्सर महिलालाई मात्र हुने भन्ने धारणा छ । तर यो होइन ।

स्तन क्यान्सर महिलामा बढी देखिए पनि पुरुषमा पनि हुन सक्छ । उदाहरणका लागि महिलामा १०० प्रतिशतको हाराहारीमा देखिन्छ भने पुरुषमा करिब एक प्रतिशतलाई मात्र हुन सक्ने अनुमान गरिएको छ । यदि स्तनमा केही परिवर्तनहरू जस्तै स्तनमा दुखाइ नभइ गाँठो देखिनु, निप्पलबाट पानी वा रगतजस्तो तरल पदार्थ निस्कनु, छालामा रातोपन वा कडापन आउनु, स्तनको आकार परिवर्तन भए बेवास्ता गर्नुहुँदैन । शरीरमा यी लक्षणहरू देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्ने सुझाव डा.कौरको छ ।

अव्यवहारिक जीवनशैलीले बढाउँछ जोखिम

स्वस्थ जीवनशैली नै क्यान्सरबाट जोगिन सक्ने उत्तम आधार हुन् । तर कहिलेकाँही स्वस्थ जीवनशैली अपनाउँदा अपनाउँदै पनि शारीरिक हर्मोनका कारण क्यान्सरको जोखिम बढाउँछ । महिलामा कम उमेरमै महिनावारी सुरु हुनु, मोटोपना, ढिलो महिनावारी बन्द हुनु, बच्चा नजन्माउनु, स्तनपान नगराउनु, व्यायाम नगर्नु, मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु स्तन क्यान्सरका जोखिम कारक रहेको डा.कौर बताउँछिन् । परिवारमा कसैलाई स्तन क्यान्सर भएको इतिहास भए जोखिम अझ बढ्छ ।

जोखिम घटाउन के गर्ने ?

स्वस्थ जीवनशैली नै स्तन क्यान्सरबाट बच्न सकिने सरल उपाय हो । तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खानपान गर्ने, ३० वर्षअघि बच्चा जन्माउने तथा कम्तीमा एक वर्षसम्म स्तनपान गराउने महिलामा स्तन क्यान्सरको जोखिम कम रहन्छ ।

यससँगै २० वर्ष उमेरपछि प्रत्येक महिलाले महिनामा एकपटक आफ्नै स्तन परीक्षण गर्नुपर्छ । साथै वर्षमा एकपटक चिकित्सकबाट ‘क्लिनिकल ब्रेस्ट एग्जामिनेशन’ गराउनुपर्छ । ४० वर्षपछि प्रत्येक वर्ष म्यामोग्राम गराउँदा स्तन क्यान्सरको जोखिम करिब ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

कुन चरणसम्म सम्भव छ उपचार ?

चिकित्सकहरूका अनुसार पहिलो र दोस्रो चरणमा पत्ता लागेको स्तन क्यान्सरका ९० देखि ९५ प्रतिशत बिरामी निको हुन सक्छन् । तेस्रो चरणमा क्यान्सर केही फैलिसकेको हुने भएकाले पहिले किमोथेरापी र त्यसपछि शल्यक्रिया गरिन्छ । चौथो चरणमा भने क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको हुन्छ ।

यस्तो अवस्थामा टार्गेटेड थेरापी र इम्युनोथेरापीमार्फत बिरामीको जीवन लम्ब्याउने प्रयास गरिन्छ । क्यान्सर केवल बिरामी महिलाको मात्र लडाइँ नभई सम्पूर्ण परिवारको संघर्ष हो । उपचारका क्रममा महिलालाई भावनात्मक सहयोग अत्यन्त आवश्यक हुन्छ । यस्तो बेला जीवनसाथी र परिवारको साथले बिरामीलाई मानसिक रूपमा बलियो बनाउँछ ।

क्यान्सर उपचारपछि महिलामा शारिरीक र मानशिक परिवर्तनहरू आउँछ । कपाल झर्ने, खान मन नलाग्ने, उदास भइरहने हुनसक्छ जस्ता लक्षण देखिन्छ । तसर्थ क्यान्सरको उपचारपछि महिलालाई सामान्य जीवनमा फर्किन समय लाग्ने भएकोले उनलाई हरेक कुरामा साथ र सहयोग दिनुपर्छ । क्यान्सरको उपचारमा आयुर्वेदिक उपचारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्न सक्ने भए पनि क्यान्सरको मुख्य उपचार भने होइन ।

केवल आयुर्वेदमै भर पर्दा धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्ने गरेका छन्, जसले जोखिम बढाउँछ । यसरी गम्भीर अवस्थामा पुगेका, अनि उपचार अधुरो छोडेका वा नियमित फलोअप नगर्ने बिरामीमा स्तन क्यान्सर पुन दोहोरिन सक्ने सम्भावना रहन्छ । विशेषज्ञहरूका अनुसार स्तन क्यान्सरबारे सचेतना, नियमित परीक्षण र समयमै उपचार नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार