२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८३ वैशाख २४ गते बिहीबार

१० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनरुप सेवाग्राहीको घरमै राहदानी पुर्याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ ।

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता दिन तयारी गरिसकेको छ । जिल्ला हुलाक कार्यालय प्रमुख सरोज पाण्डेयले प्रशासन कार्यालयसितको सम्झौतापछि घरमै राहदानी पुर्याउने कामको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

‘प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम सो प्रयोजनका लागि फारम भर्न थालिसकेका छन्,’ प्रमुख पाण्डेयले भन्ने, ‘अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा पुग्नासाथ हुलाक कर्मचारी जिल्लाभर वितरण थाल्नेछन् ।’ उनले त्यसका लागि कञ्चनपुरका नौ वटै पालिकाका हुलाकका कर्मचारी तयारी अवस्थामा रहेका जानकारी दिए ।

‘हुलाकका हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाकी प्रतिनिधि र हल्कारा लगायत पदमा जिल्लाभर ५४ जना कर्मचारी छन्,’ उनले भने, ‘प्राप्त भएको राहदानी सेवाग्राहीको घरसम्मै पुर्याउने काम हल्कारा (श्रेणीविहीन कर्मचारी)ले गर्नेछन् ।’ दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकामा हुलाका कार्यालय मार्फत सेवा प्रदान भइरहेको छ ।

‘यहाँको कान्छो हुलाक कार्यालय लालझाडीमा स्थापना पछिल्लो समय भयो,’ उनले भने, ‘सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास छ ।’ सरकारको स्वीकृत १०० कार्यसूची अन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रशासन कार्यालयले पनि एक सूचना जारी गर्दै सेवाग्राहीको राहदानी घरमै पु¥याउने सेवा आरम्भ भइसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार