२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डका अनुसार विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका तथा विद्यार्थी विवरण इन्ट्री पूरा भइसकेको छ भने हाल तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ । प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरूलाई निरन्तरता दिँदै वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो । परीक्षा सम्पन्न भएपछि तत्कालै केन्द्रमै मूल्याङ्कन प्रक्रिया सुरु गरिएको बोर्डले जनाएको छ ।

यस वर्ष परीक्षाका लागि कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार