३४ वर्षपछि पहिलोपटक स्वास्थ्य सेवामा ठुलो संख्यामा जनशक्ति थप गरिँदैछ । निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य सेवामा तीन दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दीका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको हो ।
स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ । ‘क्याबिनेटबाट अन्तिम निर्णय हुनासाथ स्वास्थ्य क्षेत्रमा दशकौँपछिको सबैभन्दा ठुलो र ऐतिहासिक उपलब्धि हासिल हुनेछ,’ सचिवालय स्रोतले भन्यो । ेशको जनसंख्या तीन करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो ।
तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या एक करोड ८० लाख मात्र थियो ।
