२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

दैलेखमा जटिल प्रसूतिको शल्यक्रिया, आमा र शिशु सुरक्षित

सत्यपाटीसत्यपाटी । दैलेख । २०८३ वैशाख २४ गते बिहीबार

दैलेखमा जटिल प्रसूति अवस्थाको सफल व्यवस्थापन गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएका छन् । जिल्ला अस्पताल दैलेखका अनुसार सोमबार राति करिब ८ बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा कार्यरत डा.वर्षाले जिल्ला अस्पतालका डा.मनोज विश्वकर्मालाई फोन गरी एक गर्भवती महिलामा ‘कर्ड प्रोल्याप्स’ अर्थात् नाल बाहिर निस्किने गम्भीर अवस्था देखिएको जानकारी गराएकी थिइन् ।

उक्त अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले डा.विश्वकर्माले तत्काल बिरामीलाई जिल्ला अस्पताल रिफर गर्न तथा एम्बुलेन्ससँगै नर्स पठाउन सुझाव दिएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एएनएम जमरा घर्ती मगरले बिरामीलाई जिल्ला अस्पताल पुर्याउने क्रममा योनिमार्गभित्र हात राखेर नाल थप बाहिर निस्किन नदिने प्रयास निरन्तर गरिरहेकी थिइन् । करिब ९ः१५ बजेतिर एम्बुलेन्स जिल्ला अस्पताल दैलेख पुगेको थियो ।

बिरामी आउनुअघि नै डा. विश्वकर्माले नर्सिङ इन्चार्ज नैना गुरुङलाई शल्यक्रिया कक्ष तयारी अवस्थामा राख्न निर्देशन दिइसकेका थिए । रक्तस्राव भइरहेकै अवस्थामा बिरामीलाई सिधै शल्यक्रिया कक्षमा लगिएको थियो । त्यहीँ गरिएको भिडियो एक्स–रे परीक्षणमा शिशुको मुटुको धड्कन प्रतिमिनेट ६० मात्र देखिएपछि थप परीक्षण नपर्खी तत्काल शल्यक्रिया गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

बेहोस बनाउने प्राविधिक बिदामा रहेका कारण डा.मनोज विश्वकर्माले स्वयं बेहोस बनाउने सुई लगाएर शल्यक्रिया सुरु गरेका थिए । अस्पतालका अनुसार गर्भवती महिलाले एकपटक पनि गर्भजाँच सेवा नलिएको र रगत परीक्षणको प्रतिवेदन आउन समय लाग्ने अवस्था रहेकाले ढिलाइ नगरी तुरुन्तै शल्यक्रिया गरिएको हो ।

एएनएम जमरा घर्ती मगरले नौमुलेदेखि जिल्ला अस्पतालसम्म बिरामी ल्याउँदासम्म तथा शिशु जन्मिनुअघिसम्म योनिमार्गभित्र हात राखेर नाल बाहिर निस्किन नदिने काम सफलतापूर्वक गरिरहेकी थिइन् । करिब १५ मिनेटको शल्यक्रियापछि नवजात शिशुको सफलतापूर्वक जन्म गराइएको थियो । समयमै गरिएको निर्णय, चिकित्सकीय दक्षता तथा स्वास्थ्यकर्मीबीचको समन्वयका कारण आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार