२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २४ गते बिहीबार

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुनः सुरु गरिएको मतदाता नामावली दर्ता कार्य निरन्तर जारी रहेको छ । सो क्रममा हालसम्म बाँकेमा एक हजार ३२६ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार पछिल्लो पटक नाम दर्ता गराएकामध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा तथा २७८ जनाले अनलाइन वा कार्यालयमा उपस्थित भई नाम दर्ता गरेका हुन् ।

गत चैत २२ गतेदेखि नाम दर्ताका लागि आवेदन दिन आह्वान गरेपछि जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएको प्रमुख शाहीले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ३० देखि ४० जना नेपाली नागरिक नाम दर्ताका लागि कार्यालयमा आउने गरेका छन् ।

निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार युवा मतदाताले अनलाइनमार्फत आवेदन दिने क्रम बढिरहेको छ । नाम दर्ता गर्ने अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि भौतिक रूपमा उपस्थित हुनेभन्दा अनलाइनबाट आवेदन दिने संख्या बढी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

विभिन्न कारणले नाम छुटेका तथा हाल उमेर पुगेका नागरिकका लागि आवेदन खुला गरिएको प्रमुख शाहीले प्रष्ट पारे । उनका अनुसार अनलाइनमार्फत त्रुटि सच्याउने तथा अद्यावधिक गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ । हाल सेवा प्रवाह सहज भएकाले नाम दर्ता तथा अद्यावधिक कार्य प्रभावकारी रूपमा भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार