नेपालगन्ज उपमहानगरमा रहेका पुराना तालतलैया मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रममा पछिल्लो समय अर्काे एक तलाउ मासिँदै जान थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ रंगशाला नजिकै रहेको धोबीताल पुरिँदै जान थालेको छ । स्थानीयहरूले धोबीताल भनेर चिनिने उक्त तलाउ कुनै समय नेपालगन्जमा धोबी पेशा गर्नेहरूले कपडा धुने गर्थे ।
उक्त तलाउमा सिंगडा खेती पनि हुँदै आएको स्थानीयहरूले बताए । सरकारी जमिनमा रहेको उक्त तलाउ स्थानीय तह गठनपछि मास्ने प्रपञ्चमा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरू नै लागेको पाइएको छ । करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त तलाउमा स्थानीय तहको पहिलो कार्यकालमा बाँके जिल्ला फुटबल संघलाई दिने गरी प्रपञ्च रचिएको यसअघि चर्चा थियो ।
संघलाई जग्गा वैधानिकरूपले नदिइँदै उक्त तलाउमा संघको भवन र ग्रासरुट फुटबल मैदानको शिलान्यास पनि गरिएको थियो । पूर्वनगर प्रमुख डा.धवलशमशेर राणाले २०७८ साल चैत २६ गते उक्त तलाउमा संघको भवन र ग्रासरुट फुटबल मैदान बनाउने योजनाको शिलान्यास गरेका थिए । उक्त शिलान्यासको बेला राखिएको शिलालेख अहिले पनि उक्त तलाउ छेउमै रहेको छ ।
तर, संघलाई उक्त तलाउको जग्गा दिने विषयमा हालसम्म उपमहानगरको कार्यपालिकाबाट कुनैपनि निर्णय भने भएको पाइँदैन । उपमहानगरपालिकाको नापी तथा भूमिसम्बन्धी शाखाले पनि उक्त जग्गा कसैलाई दिएको जानकारीमा नरहेको बताएको छ । अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा पछिल्ला केही वर्षमा जमिनमुनिको पानीमा आश्रित हाते पम्पहरू सुक्दै जान थालेका छन् ।
गर्मीको प्रभाव कम गर्न र जमिनमुनिको पानीको रिचार्ज गर्न भएका ताल तलैयाहरूको संरक्षण गर्नुपर्ने विज्ञहरू बताउँछन् । तर, नेपालगन्ज उपमहानगरले भएका ताल तलैयाहरू मासेर विभिन्न भौतिक संरचनाहरू बनाइसकेको छ । गगनगन्जको भगवान तलाउमाथि स्वास्थ्य चौकी बनाइएको छ, भने हनुमानगढी छेउको तलाउमाथि १०८ फिटे हनुमानको मूर्ति ठड्याइँदैछ ।

अन्य वडाहरूले पनि तलाउ मासेर विभिन्न संरचनाहरू बनाएका छन् । यसकै पछिल्लो कडीका रूपमै उक्त धोबीताल पनि मास्ने प्रपञ्च भइरहेको हो । उक्त धोबीतालमा केही वर्ष पहिलेसम्म बाह्रै महिना पानी जम्मा हुने गरेकोमा पछिल्ला केही वर्षमा पानी सुकिसकेको छ । स्थानीयहरूले भने वडाले फोहोर जम्मा गरेरै तलाउ पुर्ने योजना बनाएको दावी गरिरहेका छन् ।
यता सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण अभियान चलाइरहेका बेला नेपालगन्जकै पुरानो ताल अतिक्रमण गर्न खोजिएको भन्दै स्थानीयले संरक्षणको माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–८, रङ्गशाला नजिकको धोबीतालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर सङ्कलनका लागि प्रयोग गरिएकाले सो काम तत्काल रोक्न माग गरिएको हो ।
स्थानीय साजिद अलि सिद्दिकीले केही वर्षअघिसम्म धोबीले लुगा धुँदै आएको सहरको प्रमुख तालका रूपमा रहेको धोबीताल ऐतिहासिक ताल भएकाले जुनसुकै अवस्थामा पनि यसको संरक्षण गर्नुपर्ने माग गरे । उनले तालको केही भागमा माटो पटान गरेर पुरिएको र केही भागलाई फोहोर फाल्ने र उठाउने ठाउँका रूपमा प्रयोग गरिएकाले त्यसो गर्न नहुनेमा जोड दिए ।
अर्का स्थानीय उषाकुमारी खड्काले धोबीताललाई फोहोर जम्मा गरेर उठाउने ठाउँ बनाइएकाले दुर्घन्धका कारण बस्न नसक्ने अवस्था आएको बताइन् । वडा कार्यालयले नै जथाभाबी फोहोर फालेर उक्त क्षेत्रमा दुर्गन्ध फैलाइरहेको भन्दै उनले उपमहानगरपालिका र वडा कार्यालयसँग पटक पटक आग्रह गर्दासमेत फोहोर फाल्ने काम नरोकिएको बताइन् ।
स्थानीयवासीहरू उक्त फोहोरको गन्धले घरभित्रैसम्म असर गरिरहेको बताउँछन् । स्थानीय प्रमिला खड्काले आफूहरूको स्वाथ्यमाथि खेलबाड गरिरहेको बताइन् । वडा नम्बर ८ का वडाध्यक्ष रजनीश बाजपेयी भने उक्त फोहोर वडाले नभई नगरपालिकाले थुपारेको जिकिर गर्छन् । तर, सोही वडाका एक वडा सदस्यले वडाका भित्री गल्लीमा ट्याक्टर छिर्न नसक्ने अवस्था रहेकोले त्यहाँबाट संकलित फोहोर उक्त तलाउमा जम्मा गरेर ल्याण्डफिल साइटमा लैजाने गरिएको बताए ।
तर, स्थानीयवासीहरू भने वडाले फोहोर जम्मा गरेरै तलाउ पुर्ने योजना बनाएको आशंका गर्छन् । नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले प्राकृतिक धोबीताल नपुर्न र तालमा फोहोर नफाल्न वडा नं.८ को वडा कार्यालयलाई निर्देशन दिइएको जनाएका छन् । उनले सो तालको संरक्षण गर्नुपर्ने स्थानीयको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने सोचाइ रहेको पनि सुनाए ।
सत्यपाटी