२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

२५ वर्षदेखि सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो । उनीहरू हाल दैनिकजसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आएका छन् ।

एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उनीहरूको दैनिकी बनेको छ । सारङ्गीको मधुर धुनमार्फत उनीहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्छन् । अहिले उनीहरूको जीविकोपार्जनको मुख्य माध्यम यही बनेको छ । सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको रकम नै आम्दानीको स्रोत हो ।

सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताए । ‘बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ,’ उनले भने, ‘पहिला–पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ ।’

नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उनको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वैच्छिक सहयोग नै आम्दानीको आधार भएको उनको भनाइ छ । सुवास गन्धर्वका अनुसार उनी ‘भ्वाइस अफ नेपाल’मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुगेका थिए भने ‘इन्द्रेणी’ कार्यक्रममा पनि गीत गाएका छन् ।

उनले भने, ‘धेरै कार्यक्रमहरुमा सहभागी भएर गीत गाउँदै हिँडियो, तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुनः सारङ्गी बजाएरै जीविकोपार्जनमा थालेको हुँ ।’ उनले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसकेका छन् । सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् ।

उनले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताए । उनले भने, ‘सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो । पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।’ आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनको भनाइ छ ।

स्वास्थ्यले साथ दिएसम्म आफूहरू यो पेसालाई निरन्तरता दिने उनले सुनाए । नेपालमा लोपोन्मुख जातिका रूपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख, सुर्खेत लगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वद्र्धन तथा विकास गर्दै आएका गन्धर्व समुदाय लोकजीवनका संवाहक हुन् । उनीहरूको प्रमुख वाद्यवादन सारङ्गी र मादल हो । आजका दिनमा पनि गन्धर्वहरूले लोकगीतलाई जगेर्ना गर्दै यसलाई पेसाका रूपमा अपनाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार