२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

जानकीमा दुई वर्षदेखि सुत्केरी भवन अलपत्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २२ गते मंगलबार
जानकी गाउँपालिकाले हाल सेवा प्रवाह गरिरहेको पुरानो र जीर्ण प्रशासनीक भवन ।

बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरा नहुँदा अलपत्र बनेको छ । मातृ स्वास्थ्य जस्तो संवेदनशील पूर्वाधार समयमै सम्पन्न नहुँदा स्थानीय महिलाहरू जोखिमपूर्ण अवस्थामा सेवा लिन बाध्य छन् ।

करिब एक करोड २५ लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त भवन आर्थिक वर्ष २०८०–०८१ मा विशेष योजना अन्तर्गत सम्झौता भई निर्माण थालिएको थियो । सम्झौता अनुसार २०८१ भित्रै सम्पन्न हुनुपर्ने भवन हालसम्म फाउण्डेशनमै सीमित रहेको छ ।

वडा नं.५ का अध्यक्ष टिकानाथ यादवका अनुसार एक करोड ८७ लाख ९४ हजार ७०७ रुपैयाँमा पार्वती बडिमालिका जेभी, कोहलपुरले ठेक्का पाएको भए पनि हालसम्म करिब २५ प्रतिशत मात्र काम भएको छ । ‘ठेकेदार सम्पर्कविहीनजस्तै बनेका छन्, काम अघि बढ्ने कुनै संकेत छैन,’ उनले भने ।

भवन समयमै बनेको भए स्थानीय महिलाले आफ्नै वडामै सुरक्षित सुत्केरी सेवा पाउने थिए । तर अहिले पनि सुत्केरी व्यथा लागेपछि उनीहरू सदरमुकाम नेपालगन्ज जान बाध्य छन्, जसले आर्थिक र स्वास्थ्य दुवै जोखिम बढाएको छ ।

स्थानीय शियाराम यादवका अनुसार सरकारका योजनाहरू समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको छ । उता निर्माण व्यवसायी गोपाल बोहराले माटो व्यवस्थापनको समस्या देखाउँदै काम रोकिएको दाबी गरेका छन् । ‘माटोको व्यवस्था पालिकाले गरेपछि काम अघि बढ्छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृ स्वास्थ्य जस्तो संवेदनशील संरचनामा ढिलाइ अस्वीकार्य भएको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए । तर दुई वर्षसम्म काम अघि नबढ्नु र निकायबीच जिम्मेवारी स्पष्ट नहुनुले स्थानीय महिलाको स्वास्थ्य सेवा अझै पनि जोखिममै रहेको देखिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार