२०८३ वैशाख २२ , मंगलबार 5, May 2026, Tuesday

पश्चिम एसियामा फेरि तनाव चर्कियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २२ गते मंगलबार

इरान र अमेरिकाबीच युद्धविरामपछि पश्चिम एसियामा तनाव फेरि उत्कर्षमा पुगेको छ । यूएईमा भएको इरानी ड्रोन आक्रमण, बहराइनमा जारी ‘रेड अलर्ट’ र होर्मुज जलमार्गमा बढ्दो संकटले तनाव बढेको हो ।

इरानी सञ्चारमाध्यमहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै अमेरिकी सेनाले इरानतर्फ सामान लैजाँदै गरेका दुईवटा नागरिक डुंगालाई निशाना बनाएको दाबी गरेका छन् । इरानका अनुसार, ती डुंगा आईआरजीसीका ‘स्पिडबोट’ नभई सामान्य मालवाहक थिए । त्यसमा सवार पाँचजना नागरिकको मृत्यु भएको छ ।

अर्कोतर्फ, अमेरिकाले यी दाबीबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरू सुरक्षित रूपमा बाहिर निकाल्ने अभियानलाई तीव्र बनाएको अमेरिकाले जनाएको छ । अमेरिकी सेनाका अनुसार, दुईवटा अमेरिकी झण्डावाहक जहाजहरूले सफलतापूर्वक उक्त जलमार्ग पार गरेका छन् ।

साथै, अमेरिकाले आफ्ना नौसैनिक जहाजमाथि आक्रमण भएको भन्ने इरानी दाबीलाई काल्पनिक भन्दै खारेज गरेको छ । संयुक्त अरब इमिरेट्सले सोमबार एक इरानी ड्रोनले फुजैराहस्थित तेल सुविधा केन्द्रमा आगलागी गराएको जनाएको छ । उक्त केन्द्र होर्मुज जलमार्गलाई बाइपास गर्ने महत्त्वपूर्ण पाइपलाइन हबका रूपमा परिचित छ ।

लगत्तै ब्रिटिस सेनाले पनि इमिरेट्सको तटनजिकै एउटा मालवाहक जहाजमा आगलागी भएको जानकारी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले भने यी आक्रमणमा इरानको संलग्नता अस्वीकार गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘होर्मुजका घटनाहरूले कुनै पनि राजनीतिक संकटको सैन्य समाधान नहुने कुरा प्रष्ट पारेका छन् । पाकिस्तानको प्रयासमा वार्ता अगाडि बढिरहेको छ, त्यसैले अमेरिका ‘दलदल’मा फस्नबाट जोगिनुपर्छ । ‘प्रोजेक्ट फ्रीडम’ वास्तवमा ‘प्रोजेक्ट डेडलक’ हो ।’

यसैबीच, अमेरिकी राजदूत माइक वाल्ट्जले अमेरिका, बहराइन र अन्य खाडी मुलुकसँग मिलेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा एउटा प्रस्ताव तयार भइरहेको जानकारी दिएका छन् । उक्त प्रस्तावमार्फत जलमार्ग अवरुद्ध गर्ने घटनामा इरानको जवाफदेहिता तय गर्ने प्रयास गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार