मुलुकको पहिलो सडक सुरुङमार्ग ‘नागढुंगा’ आगामी जेठदेखि परीक्षणका रुपमा सञ्चालनमा आउने भएको छ । नागढुंगा सुरुङमार्गमा आगामी जेठदेखि परीक्षणकालीन रुपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि गत बुधबार (वैशाख १६ गते) युसिन–एआरटी जेभीसँग सम्झौता भइसकेको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन् । १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको ठेक्का पाएको हो ।
‘सम्झौताको तीन महिनाभित्र सुरुङमार्ग सञ्चालन गर्नुपर्ने प्रावधान छ । परीक्षणका रुपमा वैशाखमै सुरुङमार्ग सञ्चालन गर्ने योजना थियो । तर प्राविधिक कारणले वैशाखमा परीक्षण गर्न सम्भव भएन । अब जेठमा परीक्षणका रुपमा सुरुङमार्ग सञ्चालनमा आउनेछ,’ नेपालले भने ।
युनिस एआरटी जेभीका प्रबन्धनिर्देशक रामचन्द्र तिमिल्सिना पनि जेठमा परीक्षण रुपमा सुरुङमार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउँछन् । कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि नै फिल्डमा परिचालन हुने योजना थियो । निर्माण कम्पनीले सुरुङमार्ग हस्तान्तरण नगर्दा फिल्डमा परिचालन हुन सकिएको छ ।
‘केही दिनमा सुरुङमार्ग उपलब्ध गराउने आयोजनाले प्रतिबद्धता जाहेर गरेको छ । सुरुङमार्ग उपलब्ध हुनेबित्तिकै तालिम (परीक्षण उद्धार) सुरु गरिनेछ,’ तिमिल्सिनाले भने । जेठको पहिलो सातासम्म सुरुङमार्गमा उद्धार परीक्षणको तयारी गर्ने योजना छ । उद्धार परीक्षणको कार्य सकेलगत्तै परीक्षणका लागि सवारीसाधनहरु सुरुङमार्गभित्र गुड्न दिइनेछ ।
सुरुङमार्ग हस्तान्तरण नभए पनि तालिमका लागि समस्या नहुने निर्देशक नेपाल बताउँछन् । उनका अनुसार तालिमका लागि निर्माण कम्पनीको पनि सहयोग आवश्यक पर्नेछ । सुरुङमार्गमा यात्रुवाहक सवारीसाधन प्रवेश गराउनुअघि उद्धार कार्यको परीक्षण गर्नुपर्ने हुन्छ । सुरक्षाका दृष्टिकोणले सुरुङमार्गलाई सुरक्षित मानिन्छ ।
तर पनि यात्रुवाहक सवारीसाधनलाई सुरुङमार्गभित्रबाट गुडाउनुअघि केही पूर्वतयारी भने आवश्यक पर्ने निर्देशक नेपाल बताउँछन् । ‘परीक्षणकालमा सुरुङमार्गभित्र सवारीसाधन दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने सिमुलेसन गरिन्छ । तालिमको काम सकेर केही समय निःशुल्क रुपमा सवारीसाधनलाई सुरुङमार्ग भएर यात्रा गर्न दिइनेछ,’ नेपालले भने ।
सुरुङमार्ग २४ घण्टै सञ्चालन हुने भएकाले कर्मचारीहरु सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि अभ्यस्त बनाउन केही समय तालिम तथा परीक्षणमा खर्चिएको उनी बताउँछन् । सुरुङमार्गको निर्माणको ९९.५ प्रतिशत काम सकिसकेको र निर्माण व्यवसायी जापानको हाजमा एन्डो कर्पोरेसन जेभीले हस्तान्तरणको प्रक्रिया अघि बढाइसकेको आयोजनाले जानकारी दिएको छ ।
‘कामको मूल्यांकन गरिरहेका छौँ । मूल्यांकन अन्तिम चरणमा पुगेको छ । एक–डेढ हप्तामा हस्तान्तरण प्रक्रिया अघि बढ्छ,’ नेपालले भने । नागढुंगा उकालो र ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो ।
वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो । तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो । त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ ।
सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ । त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ । सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ ।
सत्यपाटी