नेपाल–चीन उत्तरी सीमाक्षेत्र अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङस्थित ढालुङ र सेताराको उच्च लेकमा एकैसाथ ठूलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा (क्याङ) देखापरेका छन् । समुद्री सतहभन्दा करिब पाँच हजार मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा चरिरहेको अवस्थामा ११६ वटा क्याङ भेटिएका हुन् ।
कोरला नाकाबाट फर्किने क्रममा जङ्गली गधा सम्बन्धी अध्ययन गरिरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले यति ठूलो सङ्ख्यामा क्याङ देखेका हुन् । उनले ढालुङ लेकमा १०२ र सेतारा लेकमा १४ वटा क्याङ चरिरहेको अवस्थामा फेला पारेको बताए । जङ्गली गधाको यो प्रजातिको मुख्य बासस्थान ट्रान्स हिमालयन अर्थात् तिब्बत र मुस्ताङको सीमा क्षेत्र हो ।
मौसम अनुसार यिनीहरूले आफ्नो बासस्थान फेर्ने गर्छन् । हिउँदका आठ महिना तिब्बती पठारमा बिताउने क्याङ गर्मी सुरु भएपछि अप्रिल, मे र जुन महिनामा उपल्लो मुस्ताङका उच्च लेकहरूमा प्रवेश गर्छन् । यो याममा मुस्ताङका सीमावर्ती लेकमा हरियो घाँस पलाउने भएकाले उनीहरू आहारको खोजीमा नेपालतर्फ आउने गरेको पौडेलले जानकारी दिए ।
यसअघि सन् २००४ मा गरिएको अध्ययनमा उपल्लो मुस्ताङमा जम्मा ३७ वटा मात्र क्याङ फेला परेका थिए । क्यामेरा ट्र्यापिङबाट सङ्ख्या यकिन गर्ने गरिए पनि यसरी प्रत्यक्ष रूपमा यति ठूलो बथान पहिलो पटक देखिएको हो । एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी मानिने यी जङ्गली गधाको शरीर खैरो र रातो मिसिएको हुन्छ भने पेटको भाग सेतो हुन्छ ।
लामा खुट्टा हुने यी जनावर निकै छिटो कुद्न सक्छन् । सधैँ समूहमा बस्ने, सतर्क रहने र तीव्र गतिमा दौडिने यिनीहरूको मुख्य विशेषता हो । पछिल्लो समय बढ्दो जलवायु सङ्कट र मानवीय गतिविधिले गर्दा मौसम अनुसार तलमाथि गरिरहने यी दुर्लभ जङ्गली गधाको बासस्थान र अस्तित्वमा भने चुनौती थपिँदै गएको छ ।
सत्यपाटी