महालेखा नियन्त्रकको कार्यालयले कर्णाली प्रदेशका स्थानीय तह (सबै)लाई दिन लागेको एउटा तालिम मितव्ययिताका नाममा सुर्खेतबाट नेपालगन्ज सारिएको छ । वैशाख २४ र २५ गते महालेखाले ‘स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा बजेटिङ, खर्च लेखाङ्कन र प्रतिवेदन लगायत प्रणालीमा भएको पछिल्लो अद्यावधिक विषयमा अभिमुखीकरण तालिम’ दिँदैछ ।
कर्णालीका स्थानीय तहलाई दिन लागेकाले त्यसका लागि सुरुमा वीरेन्द्रनगरको शुभ होटलमा तालिम आयोजना गर्ने परिपत्र जारी भयो । शुभ कर्णालीको ठुलो होटलमा पर्छ । तर, वैशाख १५ गते उक्त तालिम नेपालगन्ज गर्ने गरी उर्दी भएको छ । एक पत्र जारी गर्दै महालेखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सार्वजनिक खर्च मितव्ययिताका लागि तालिम, कार्यक्रम सरकारी हलमा सञ्चालन गर्नुपर्ने भन्ने परिपत्र अनुसार, प्रदेश सुशासन केन्द्र नेपालगन्ज गर्ने भनेको छ ।
कर्णाली प्रदेशभित्र हुनुपर्ने कार्यक्रम मितव्ययिताको नाममा लुम्बिनी प्रदेशको नेपालगञ्ज राखेपछि प्रश्न उठेको छ । नेपालगन्ज सुर्खेतबाट चार घण्टाको सवारी दुरीमा पर्छ । त्यसो हुँदा थप खर्च बढ्छ नै । सुर्खेतमै पर्याप्त मात्रामा सरकारी हल रहे पनि नेपालगञ्ज सारेर मितव्ययिताका नाममा अनावश्यक खर्च थपेको भन्दै सुर्खेत–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रास्वपाका सांसद रमेशकुमार सापकोटाले प्रश्न उठाएका छन् । सुर्खेतमा सिटी हल, प्रदेश सुशासन केन्द्रका साथै जिल्ला समन्वय समितिको सभाहल, प्रदेश सरकारका केही हल छन् ।

सत्यपाटी